घरघरमा खानेपानी पुगेपछि दजाकोट जनातामा खुसि थपियो

admin

२०८१ मंसिर १५ गते, शनिबार १९:२२ मा प्रकाशित

गुल्मी, १५ मंसिर । वर्षौदेखि खानेपानीको समस्याबाट पीडित बनेका गुल्मीको मुसिकोट नगरपालिका अन्तरगत दजाकोटका जनताहरु यतिबेला घरघरमा खानेपानी पुगेपछि निकै खुसि बनेका छन । लिफ्ट प्रबिधि मार्फत खोलाको पानी गाउँसम्म पुरायर घरघरमै खानेपानीको धारा खसेपछि स्थानीयहरुमा खुसि थपिएको हो ।

खानेपानीको अभावमा काकाकुल जस्तो बनेको उक्त गाउँमा एक गाग्री पानी लिनका लागि डेढ घण्टा टाढा पुग्नु पर्ने बाध्यता थियो । ‘बिहानै भालेको डाँकोसँगै उढेर पानी बोक्न जानु पथ्र्यो, ति दिन सम्झदा अझै ताजै जस्तो लाग्छ, यसरी कुनै दिन घरमै पानीको धारा खस्ता भनेर सोंचेको पनि थिएन,’ स्थानीय ५७ वर्षीय यम बहादुर गाहले भन्नु भयो । उहाँले यतिबेला आफ्नै घरमा पानीको धारा खसेपछि आफुलाई सपना जस्तो लागेको सुनाउनु भयो ।

दजाकोट गाउँ २०७३ बैशाख १८ मा आगलागीले ध्वस्त भएपछि श्रोत नहुँदा त्यहाँ खानेपानीको समस्या थियो । पुर्वाधार साझेदारी बिकास कार्यक्रम अन्तरगत ६५ लाख, खानेपानी तथा सरसफाई कार्यालय गुल्मीको ९७ लाख ४८ हजार, नेपाल विद्युत प्राधिकरण मार्फत ४३ लाख ९० हजारका विद्युतिय सामग्री एवं स्थानीय जनश्रमदान ३७ लाख ५० हजार गरि कुल दुइ करोड ४३ लाख ८८ हजार लागतमा गाउँमा खानेपानी पुगेको हो ।

बस्तीदेखि ६ सय मिटर तलबाट लिफ्ट प्रबिधि मार्फत यतिबेला घरघरमा खानेपानी पुगेको हो । ‘एक घर एक धारा’ खानेपानी योजना मार्फत त्यहाँका एक सय २३ घरमा पानेपानी पुगेको भगलामगैरा दजाकोट लिफ्ट खानेपानी उपभोक्ता समुहका सचीव दिल बहादुर सोनारीले जानकारी दिनुभएको छ ।

गाउँमा खानेपानी नहुँदा स्थानीयहरुले विगतमा छल्दिखोला र ओलाङ्दीसम्म पुगेर पानीको जोहो गर्नु पर्ने अबस्था थियो । पुस्तौदेखि खानेपानीको समस्या झेल्दै आएका दजाकोटमा लिफ्ट प्रबिधि मार्फत खानेपानी पुगेपछि अब पानीको समस्या टरेको स्थानीय हरि छन्त्यालले बताउनु भयो । प्रयाप्त पानी नहुँदा गाई वस्तुलाई पेटभरी पानी खुवान पनि आकासको भर पर्नु पथ्र्याे, खोलाको पानी यसरी घरघरमा आउला भन्ने गाउँका धेरैैलाई पत्यार थिएन ।

खर्चिलो भएपनि प्रबिधिले दजाकोटका जनातको मुहार परिवर्तन गरेकोे छ । ‘पानी भएपछि समयको पनि बचत हुने, कृषि र पशुपालन गर्न पनि सजिलो हुने, समयको पनि बचत हुँदा बालवालीकाको पठनपाठनमा पनि धेरै मद्दत पुगेको छ,’ स्थानीय सरिता गाहाले भन्नुभयो । ‘

आगलागी भएपछि दुषित पानीका कारण दजाकोटमा ०७३ मा हैजाका कारण एक जनाले ज्यान गुमाउनु परेको थियो भने पचास भन्दा बढी मानिस बिरामी परेका थिए । ०७३ वैशाख १८ गतेको आगलागीले ५७ घर र ७० गोठ पुर्ण रुपमा जलेर नष्ट भएका हुनुका साथै पाँच सय बढी पशुचौपायाहरु जलेका थिए । आगलागिपछि यतिबेला दजाकोटमा ४१ वटा घरहरु पुनर्निमाण भैसकेका छन ।