कालीगण्डकी कोरिडोर सडक एक साता बन्द हुने

admin

२०८१ मंसिर १८ गते, मंगलवार १८:५१ मा प्रकाशित

गुल्मी, १८ मंसिर । कालीगण्डकी कोरिडोर सडकमा एक साताकालागि सवारी आवागमन बन्द हुने भएको छ । कालीगण्डकी कोरिडोर सडक योजना अन्र्तगत गुल्मीको हर्मिचौरदेखि बाग्लुङ्गको बलेवा सडक खण्डमा आवागमन बन्द हुने भएको हो ।

कालीगण्डकी कोरिडोर (गैडाकोट–राम्दी–मालढुङ्गा) सडक योजनाले जिल्ला प्रशासन कार्यालय गुल्मी, पाल्पा र बाग्लुङ्गलाई पत्राचर गरि यही मङ्सिर १९ गते बुधबारदेखि एक साताको लागि सडक बन्दहुने भन्दै पत्र मार्फत औपचारिक रुपमा जानकारी गराई सकेको छ ।

उक्त सडक योजना अन्तरगत गुल्मीको कालीगण्डकी गाउँपालिका –२ स्थित अर्बेनी–हर्मिचौ सडक खण्डमा पर्नेे गरगरेको जोखिमयुक्त भीर कटान गर्नु पर्ने भएको कारण यही मङ्सिर १९ देखि २५ गतेसम्म सडक बन्द हुने जानकारी गराईएको हो । प्रत्यक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सडक बन्दहुने कालिगण्डकी कोरिडोर सडक योजनाका ईन्जिनियर अरुण खत्रीले जानकारी गराउनु भएको छ ।

सडक बन्द हुनेभएपछि यात्रु तथा सवारी साधनहरुको सहजताका लागि हर्मिचौर–मिर्मी–आधिदोभान हुँदै पुर्तिघाट तर्फको सडक प्रयोग गर्ने गरी आवश्यक सहजिकरणका लागि उक्त सडक अन्तरगत पर्ने स्थानीय जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको छ ।

सडक बन्दहुने भएपछि कालिगण्डकी गाउँपालिका गुल्मीले पनि सरोकारवाला यात्रु तथा सवारी साधनहरुलाई बैकल्पिक सडक प्रयोग गर्नका लागि सार्वजनिक रुपमै सूचना जारी गरेको छ । कालिगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले आज मंङ्गबार सूचना जारी गरि सर्बसाधारणलाई उक्त जानकारी गराउनु भएको हो ।