लुम्बिनी र गण्डकी प्रदेश जोड्दै कालीगण्डकीको पक्की पुल

admin

२०८१ पुष १९ गते, शुक्रबार १८:५२ मा प्रकाशित

गुल्मी, १९ पुस । लामो समयपछि कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएको छ । गुल्मी र पर्वत जोड्ने पक्की पुल निर्माण सम्पन्न भएसँगै दुईवटा प्रदेशका नागरिकहरुलाई निकै सहज बनेको छ । लुम्बिनी प्रदेश अन्तरगत गुल्मीको कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेश अन्तरगत पर्वतको विहादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदी माथि पक्की पुल निर्माण गरिएको हो ।

लामो समयको अन्तरालपछि कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण भएपछि दुइ वटै प्रदेश वारीपारी बस्ने नागरिकहरुको वर्षौैदेखिको सपना पुरा भएको छ । पक्की पुल नहुँदा दुरीले नजिकै भएपनि कालीगण्डकी नदीले छोटो दुरी पनि घण्टौं टाढा बनाएको थियो । जसका कारण नजिकैका छिमेकीहरु पनि वारीपारी आखाँले हेराहेर गरेपनि ठूलो नदीको उर्लदो बहाव र सुस्याहटका कारण तत्कालै भेटघाट गर्न असम्भब थियो ।

त्यही असम्भब कुरालाई प्रबिधिको विकाससँगै कालीगण्डकी माथि पक्की पुल बनेपछि यतिबेला सम्भब बनेको छ । अहिले दुईवटै प्रदेशका नागरिकहरुमा भिन्नै उत्साह र खुसी थपिएको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताउनु भयो ।

१२६ मिटर लम्बाई र ११ मिटर चौडाई रहेको उक्त कुल १४ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । पुलमा डबललेन सवारी साधनहरु सहित दुबै साईडमा मान्छे हिड्न मिल्ने गरि निर्माण गरिएको छ । सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौं बीच गत आठ वर्ष अघि उक्त पुल निर्माणको सम्झौता गरिएको थियो । सम्झौता अनुसार निर्माण व्यवसायीले २०७६ चैत ३० मा हस्तान्तरण गर्नुपर्ने थियो । तर समयमै निर्माण व्यवसायीले काम सम्पन्न नगरेपछि उक्त कार्यालय खारेज भएसँगै मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मी मार्फत रोकिएको काम शुरु भएको थियो ।

पछि सडक डिभिजन कार्यालय पाल्पा मार्फत कार्यन्वय हुनेगरी पुल निर्माणको काम सम्पन्न भएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनु भएको छ । पुल निर्माणको काम सम्पन्न भएपनि बजेट अभाबका कारण सडक डिभिजन कार्यालय पाल्पावाट निर्माण व्यवसायीलाई अझै तीन करोड ८५ लाख रुपैंया भुक्तानी गर्न बाँकी रहेको उहाँले बताउनु भयो ।

पुलको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सांसद डा. चन्द्र भण्डारीले पक्की पुल निर्माणले दुई पालिका, जिल्ला र प्रदेशसँगै विकासको आयामलाई पनि जोडेको बताउनु भयो । उहाँले आयातका लागि मात्रै पक्की पुल नबनेको प्रष्ट पार्दै निर्यातका लागि पनि अब नागरिकहरु उत्पादनसँग जोडिनु पर्नेमा जोड दिनुभएको थियो ।

कालीगण्डकी कोरिडोरले भारत र चिनलाई जोड्ने भएकोले मुख्य गरी कोरला नाकामा पुग्न र उत्पादित सामग्रि निर्यात गर्न थप सहज पुग्ने भन्दै सांसद डाक्टर भण्डारीले यसको फाइदा कालीगण्डकी र विहादीबासीले लिनुपर्ने बताउनु भयो । कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएपछि गुल्मी र पर्वतको सदरमुकामहुँदै अन्य जिल्लामा आवतजावतका लागि सडकको दुरी समेत समेत घटेको छ । पक्की पुलले दुई जिल्लाको सडकलाई सहज बनाउँदै आर्थिक उन्नतीसँग जोडनका लागि थप सहजता पुग्ने विहादी गाउँपालिका पर्वतका अध्यक्ष परविन गुरुङ बताउनु भएको छ ।