२७ माघ २०८१, आईतवार
माघेसङ्क्रान्तिको अवशरमा गुल्मीको रुरुक्षेत्रमा श्रद्धालुहरुको घुँईचो

गुल्मी, १ माघ । मकर (माघेसङ्क्रान्ति) को अवशरमा गुल्मीको पबित्र धार्मिक स्थल रुरुक्षेत्रमा आज बिहानैदेखि श्रद्धालुहरुको घुँइचो लागेको छ । मकर सङ्क्रान्तिमा कालीगण्डकी नदीमा स्नान गर्न र पुजाअर्चनाका लागि गुल्मी लगायत टाढाटाढादेखि आएका भक्तजनहरुको बिहानैदेखि नदी किनारमा बाक्लो उपस्थिति रहेको छ ।
मकर सङ्क्राान्तिको अवशरमा रुरुक्षेत्रको कालीगण्डकी नदीमा स्नान गर्न र पुजाआजाका लागि बिहानदेखि बेलुका अबेरसम्म नदी र मन्दिरहरुमा भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ । रुरुक्षेत्रमा रहेको कालीगण्डकी नदीमा स्नान गरेपछि मानिसहरु नजिकै रहेको हृषीकेश मन्दिरमा पुगेर पुजाआजा अर्चना गर्ने परम्परा छ ।
रुरुक्षेत्रको कालीगण्डकी नदीमा स्नान गरेपछि आफुले अञ्जानमा गरेका सम्पूर्ण पापहरु नष्ट भई मोक्ष प्राप्ती हुन्छ भन्ने जनविश्वास रहिआएको छ । त्यही आस्था र विस्वासका कारण यहाँ नेपालका विभिन्न ठाउँ लगायत भारतको अयोध्या र बनारससम्मबाट तिर्थालुहरु यहाँ स्नान गर्नका लागि आउने गर्दछन ।
मकर सङ्क्रान्ति पर्वले हिन्दू धर्मावलम्बीहरूको लागि एक विशेष महत्व राख्नुका साथै स्थानीय संस्कृतिको संरक्षण, संवद्र्धन र धार्मिक आस्थालाई जीवन्त बनाउ मद्दत पुराएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रुरुक्षेत्र धार्मिक दृष्टिकोणबाट एक महत्वपूर्ण स्थलका साथै एउटा धार्मिक आस्थाको केन्द्र बनेको छ । जसका कारण यस क्षेत्रका मानिसहरुका लागि यो पर्व विशेषगरी पारिवारिक र सामाजिक भेटघाटको अवसर जुराउने स्थल पनि हो ।
रुरुक्षेत्र चारधाम मध्यको एक धाम मानिन्छ । यस पबित्र धार्मिक स्थल पुगेर पुजाआजा गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त भईन्छ भन्ने जनविश्वास छ । त्यसै आस्था र विस्वासका कारण कालीगण्डकीमा स्नान गर्न भक्तजनहरुका लागि आजको दिन बिशेष मानिन्छ । यहाँ विषेशगरि जेठी, माईली र कान्छी गरि तिन दिनसम्म मकर सङ्क्रान्ति पर्व मनाईन्छ । माघे सङ्क्रान्तिमा कालीगण्डकी नदीमा स्नान गर्दा मानिसको जीवनमा शुद्धता र शान्ति ल्याउँने र पूजा अर्चना गर्दा भगवान शिवको आशीर्वाद प्राप्त हुन्छ भन्ने मान्यता छ । भक्तजनहरूले यहाँ पुग्दा आफूलाई पवित्र मान्दै परिवारको सुख–शान्तिको कामना समेत गर्छन ।
कृषि मेला प्रर्दशनी
मकर सङ्क्रान्ति पर्वको अवशरमा रुरुक्षेत्रमा जिल्ला स्तरी कृषि मेला प्रर्दशनीको आयोजना गरिएको छ । स्थानीय रुरुक्षेत्र गाउँपालिका, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका, कृषि ज्ञानकेन्द्र एवं प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना लगायतका संस्थाहरुको आयोजनामा प्रर्दशनी राखिएको हो । प्रर्दशनीमा रैथानेवाली, स्थानीय सुन्तलाजात फलफुल, तरकारी, खाद्यान्न तथा विउवीजन लगायतका वस्तुहरु राखिएको छ । प्रर्दशनीका लागि कृषकहरुले आफ्ना कृषि उपजहरु मेलामा लिएर आएका छन ।
छ दिनसम्म सञ्चालनहुने माघे सङ्क्रान्ति मेलामा व्यापारका लागि मानिसहरु टाढाटाढाबाट रिडीमा आईसकेका छन । माघे सङ्क्रान्तिको अवशरमा विशेषगरि उनबाट बुनेका कम्मल, काम्ला, राडी–पाखी लगायत बाँस तथा चोयाँवाट निर्मित सामग्रिहरु, ओखरका घाँजी, गुड, सुन्तला लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ ।
मेलामा अर्घाखाँची, प्यूठान, वाग्लुङ्, रुकुम, रोल्पा लगायतका जिल्लाहरुबाट मानिसहरु व्यापारका लागि रुरुक्षेत्रमा आईपुगेका छन ।
तीन मुखे पुल
रुरुक्षेत्रमा रहेको तीनमुखे झोलुङ्गे पुल रुरु क्षेत्रको महत्वपूर्ण संरचना हो । यो पुल कालीगण्डकी नदी माथि निर्माण भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने यो पुलले त्यस क्षेत्रको व्यापार व्यवसायलाई थप सहज बनाएको छ । यो पुल हेर्नका लागि हजारौं मानिसहरु रुरुक्षेत्रमा आउने गर्दछन ।
पछिल्लो समयमा आन्तरिक एवं वाह्य पर्यटकहरुका लागि यो पुल मुख्य पर्यटकीय स्थल बनेको छ । उक्त पुलले तीनै जिल्लामा रहेका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरूलाई समेत जोडेको छ । पुल अवलोकनका लागि मानिसहरुको घुँईचो लाग्ने गर्दछ । उद्योग वाणिज्य संघ रिडी शाखा, रुरु फ्रेण्डस क्लव र फ्रेण्डस क्लव रिडीको संयुक्त आयोजनामा रिडीमा छ दिनसम्म मेला सञ्चालन गरिएको छ ।