गुल्मीको रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द 

admin

२०८१ माघ १ गते, मंगलवार १४:१८ मा प्रकाशित

गुल्मी, १ माघ । गुल्मीको रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द भएको छ । नेपाल वायुसेवा निगम (नेपाल एरलायन्स) सँग भएका दुइवटा ट्वीनअटर जहाज ग्राउन्डेड भएको कारण करिब एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द भएको हो ।

हवाई सेवा बन्द भएपछि गुल्मेलीहरु केही समयका लागि हाललाई हवाई सेवाबाट बञ्चित हुनु परेको छ । नेपाल वायुसेवा निगमले २०८० बैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक उडान शुरु गरेको थियो । निगमले जिल्लामा व्यावसायिक उडान गरेसँगै शुरुमा सातामा तीन पटकसम्म उडान गर्दै आएको थियो ।

यात्रुहरुको बढ्दो चाँपका कारण उडान संख्यामा बृद्धि गरि सातामा चार पटकसम्म उडान गर्दै आएकोमा वायुसेवा निगमको जहाज ग्राउन्डेडहुन थालेपछि सातामा दुइ पटक र एक पटक हुँदै अहिले पुर्ण रुपमा सेवा बन्द भएको छ ।

जहाजको इन्जिन साइकल सकिएपछि नेपाल एयरलाइन्ससँग भएको दुइवटा ट्वीनअअटर जहाज ग्राउन्डेड भएको नेपाल वायु सेवा निगम रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभएको छ । नेपाल एरलायन्ससँग थप ट्वीनअटर जहाज नभएको कारण ग्राउन्डेड भएका विमानको मर्मत संभार भैरहेको हुँदा हवाई सेवा नियमित हुन अझ केही समय लाग्ने थापाले बताउनु भयो ।

पछिल्लो समयमा रेसुङ्गा विमानस्थलबाट साताका एक पटक बिहिबार मात्र उडान हुँदै आएको थियो ।गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाण्डौबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ ः३० बजे नियमित उडान गर्दै आईरहेको थियो ।

निगमले काठमाडौंबाट रेसुङ्गा लागि ७ हजार पाँच सय रुपैंया र रेसुङ्गादेखि काठमाडौंका लागि ७ हजार तीन सय रुपैयाँ भाडादर निर्धारण गरेको छ । रेसुङ्गा विमानस्थलमा दिउसोको समयमा अत्याधिक हावाको चाँपका कारण प्राबिधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गरिदै आएको थियो ।

रेसुङ्गा विमानस्थलबाट काठमाण्डौका लागि २१ महिनाको अबधिमा एकतर्फी रुपमा ९० वटा उडान भैसकेको छ । उक्त उडान मध्य रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि ११ सय ६५ र काठमाडौंबाट रेसुङ्गाका लागि एक हजार ८८ गरि कुल २ हजार २ सय ५३ जना यात्रुहरुले सेवा लिएको नेपाल वायु सेवा निगम रेसुङ्गा स्टेशन प्रमुख थापाले जानकारी दिनुभयो ।

दुइतर्फी उडानबाट नेपाल वायुसेवा निगमले हालसम्म एक करोड ४० लाख भन्दा वढी राजस्व समेत सङ्कलन गरेको बताईएको छ । पछिल्लो समयमा हवाई उडान शुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं वाह्य पर्यटकहरुको संख्यामा समेत बृद्धिहुँदै गएको थियो । हवाई सेवाका लागि यात्रुहरुको अत्याधिक चाँप हुँदाहुँदै पनि निगममा जहाज अभावका कारण जिल्लामा यात्रुहरुले पटक पटक समस्या भोग्दै आईरहेका छन ।