३ चैत्र २०८१, सोमबार
गुल्मीको सत्यवतीमा अल्लोबाट कपडा बुनेर आयआर्जनमा जुट्दै महिलाहरु

गुल्मी, ९ पुस । गुल्मीको सत्यवती गाउँपालिका अन्तरगत भार्सेका महिलाहरु यतिबेला गाउँमै लघुउद्यम सञ्चालन गरेर अल्लोका (लेकाली सिस्नो) कपडाहरु बनाउन थालेका छन । फुर्सदको समयमा घरमै बसेर अल्लोका कपडा बुनेर राम्रो आम्दानी समेत गर्न थालेका छन । गुल्मी, अर्घाखाँची, प्यूठान लगायतका जिल्लामा यसलाई चाल्लने सिस्नोको नामबाट समेत चिनिन्छ ।
सत्यवती गाउँपालिका –८ स्थीत भार्से एउटा जनजातीहरुको सिँगो गाउँ हो । परम्परागत रैथाने खाद्यवालीहरु उत्पादन हुने उक्त गाउँका महिलाहरु पछिल्लो समयमा उद्यमशिलतामा लागेका छन । पहाडी जिल्लामा अल्लो अर्थात लेकाली सिस्नुको कपडा बनाउने चलन पुरानै हो । तर गुल्मी जिल्लामा यसको व्यवसायीक रुपमा उद्यम सञ्चालन भएको छोटो समय भएको छ ।
ग्रामीण क्षेत्रमा यत्तिकै सडेर गईरहेका लेकाली सिस्नोलाई प्रयोगमा ल्याउनका लागि स्थानीय सरकारले पनि अल्लोका कपडा बनाउन महिलाहरूलाई प्रेरित गरेपछि त्यहाँका महिलाहरु व्यावसायिक रुपमा यसरी अल्लोका कपडा बनाउने काममा लागेका हुन । भार्सेमा गत आठ वर्षदेखि लघुउद्यम सञ्चालनका लागि साझा सुविधा केन्द्र स्थापना गरिएको छ । त्यसै लघुउद्यम केन्द्रमा स्थानीय १४ जना महिलाले अल्लोको धागोबाट टोपी, गलबन्दी, कोट, सल, मजा लगायतका सामग्रिहरु बनाउदै आएका छन ।
अल्लोबाट उत्पादन हुने धागो टिकाउ, नरम, र बलियो हुन्छ । ग्रामिण क्षेत्रदेखि अन्तर्राष्ट्रिय बजारमा पनि यसको माग बढिरहेको कारण यसले स्थानीयहरुको जीविकोपार्जनमा समेत सहयोग पुराउने सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताउनु भयो । उद्यम सञ्चालनका लागि गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालय गुल्मीबाट तालिम एवं प्रबिधि समेत सहयोग गरिएको छ ।
नयाँ पुस्ताहरुलाई यो पेशामा खासै चासो नभएका कारण भार्सेमा पुराना पुस्ताहरुले अल्लोको व्यावसायलाई निरन्तरता दिँदै आएका छन । अल्लोको कपडाको माग बढी भएका कारण बिक्रिका लागि बजारको समस्या नभएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो । नयाँ पुस्तालाई सिप हस्तान्तरण गर्नका लागि पालिकाले वडा नं ३ को लुम्पेक स्थीत देउरालीडाँडामा तालिम सञ्चालनगरि नयाँ पुस्ताहरुलाई पनि आयआर्जनसँग जोड्दै पुराना पुस्ताहरुसँगै उनीहरुलाई अघि बढाउन लागेको सत्यवती गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले बताउनु भयो ।
सत्यवतीमा अल्लोको प्रचुर सम्भाबना भएको कारण त्यहाँका महिलाहरु कृषि कर्मसँगै फुर्सदको समयमा अल्लोबाट उद्यम गरे राम्रो आम्दानी गर्न थालेका छन । अल्लोको कपडा तयार पार्नको लागि शुरुमा सिस्नोको बोट काटेर यसको छालाको बाहिरी भाग निकाल्ने र यसलाई राम्रोसँग सफा गर्नुपर्दछ । त्यसपछि पानीमा खरानी राखेर उमाल्ने र उमालेपछि धोयर घाममा सुकाउने गरिन्छ । सुकाई सकेपछि त्यसलाई हात वा चर्खाको माध्यमबाट धागो काटेर कपडा बुन्ने गरिएको स्थानीय रामकुमारी दर्लामी बताउनुहुन्छ ।
अल्लोलाई बनाउने प्रक्रिया र मेहनत लामो भए पनि यसबाट बन्ने कपडा टिकाउ र सुन्दर हुन्छन । अल्लोका कपडाहरू विशेषगरी पहाडी क्षेत्रका समुदायहरूको पहिचानका रूपमा चिनिन्छ । अल्लो खेतीले ग्रामीण क्षेत्रका मानिसहरूलाई रोजगारी सिर्जना गर्न र आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुराउने सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताउनु भएको छ ।