२७ माघ २०८१, आईतवार
गुल्मीमा कम गुणस्तरको मादक पदार्थको बिक्री बितरणमा रोक

जनार्दन घिमिरे
गुल्मी, १३ माघ । गुल्मीको मालिका गाउँपालकाले कम गुणस्तर भएको मादक पदार्थको बिक्री बितरणमा रोक लागाउने भएको छ । मादक पदार्थको सेवनका कारण समाजमा घरेलु हिंसा बढ्दै गएको भन्दै त्यसको न्यूनीकरणका लागि त्यस्ता प्रकारका मदिराको बिक्री बितरणमा पूर्ण रुपमा रोक लागउने निर्णय गरेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिनुभएको छ ।
मालिका गाउँपालिकाका कार्यवाहक अध्यक्ष उपेन्द्र अर्यालको संयोजकत्वमा जनप्रतिनिधि, सुरक्षा निकाय, समाजसेवी एवं सरोकारवालाहरु बीच आईतबार बसेको बैठकले उक्त निर्णय कार्यान्वयन गर्न गराउनको लागि सरोकारवाला सबैमा सार्वजनिक रुपमै सूचना प्रकाशित गरी जानकारी गराएको छ ।
मादक पदार्थ सेवनका कारण गाउँपालिकाको वडा नं –८ अन्तरगत मरभुङ्मा एक साताको अबधिमा दुइ जनाको ज्यान गएको भन्दै यसले समाजमा पारिवारीक झगडा, बेमेल र ज्यान जानेसम्मका घटनाहरु दिनानुदिन बढ्दै गएको बताईएकोे छ ।
गाउँपालिकाले प्लास्टिक बोत्तलमा राखि बिक्री बितरण गर्दै आएको अत्यन्तै कम गुणस्तरको सोफि (बोलचालको भाषामा टुङ्कुला) रक्सीको स्टकलाई एक साता भित्रमा व्यवस्थापन गर्न निर्देशन दिएको छ । बैठकले अनुमति प्राप्त व्यवसायीहरुले मादक पदार्थको बिक्री बितरणको लागि बेलुका ५.३० देखि ८ बजेसम्मको समय निर्धारण गरेको छ । साथै नावालक, महिला तथा दीर्घ रोगीहरुलाई मदिरा बिक्री बितरणमा रोक लगाईएको छ ।
कम गुणस्तरको रक्सी ढुवानी तथा बिक्री बितरण सम्बन्धमा प्रहरी प्रशासनलाई अनुगमनको लागि खटाउने र जरिवानाबाट प्राप्त रकमको २५ प्रतिशतले हुन आउने रकम सुरक्षाकर्मीहरुको सवारी साधन मर्मतमा खर्चिने बताईएको छ ।
उक्त निर्णय बिपरित कार्य गरेको पाइएमा व्यवसायी तथा सामान ढुवानी गर्ने सवारी साधनलाई पहिलो पटकलाई पाँच हजार रुपैंया जरिवाना गर्ने समेत निर्णय गरेको गाउँपालिका कार्यवाहक अध्यक्ष अर्यालले बताउनु भयो ।