३ चैत्र २०८१, सोमबार
गुल्मीमा पहिलो पटक दुइ करोडको लगानीमा पानी उद्योग स्थापना

जनार्दन घिमिरे
गुल्मी, १८ माघ । रोजगारीको सिलसिलामा पछिल्लो समयमा कैयौं युवाहरु बिदेशीदै गएको अबस्थामा गुल्मीका युवाहरुले भने गाउँमै लगानी गरेर उद्योग सञ्चालन गरेका छन । जिल्लाको रेसुङ्गा नगरपालिकाका तीन जना युवाहरु मिलेर गाउँमै दुइ करोड रुपैंया लगानी गरेर आधुनिक पानी उद्योग सञ्चालनमा ल्याएका हुन ।
आफुसँगैका साथीहरु रोजगारीका लागि विदेशीय पनि आफुहरुले गाउँमै लगानी गरेर पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यले रेसुङ्गा नगरपालिकाका –३ स्थीत बेहोरेमा उद्योग सञ्चालन गरेको रेसुङ्गा जल प्रालिका अध्यक्ष सन्तोष कुँवरले बताउनु भयो । रेसुङ्गा नगरपालिका –३ का सन्तोष कुँवर –६ का राम पन्थी एवं –२ का विश्वास पुन गरी तीन जना युवाहरुले रेसुङ्गाको पानीलाई प्रशोधन गरी ब्रान्डिङ् गरेर ‘रेसुङ्गा आक्वा’ नामको शुद्ध पानी बजारमा ल्याउनु भएको छ ।
उक्त जल उद्योगको शुक्रबार उद्घाटन गर्दै रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले देशमा केही छैन भनेर गलत भाष्य निर्माण गरी विदेश जाने युवाहरुलाई रेसुङ्गाका तीन जना युवाहरुले गाउँमै उद्योग स्थापना गरेर स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएको बताउनु भयो । उहाँले यसरी उद्यम गर्ने युवाहरुलाई नगरपालिकाको तर्फबाट प्रोत्सान गर्दै सक्दो सहयोग गर्ने नीति रहेको बताउनु भयो ।
उद्योग स्थापनापछि चार महिनासम्म पानीको परिक्षण गरेपछि व्यावसायीक रुपमा उक्त पानी बजारमा आएको हो । उद्योगमा प्रति घण्टा दुइ हजार लिटर पानी उत्पादन गर्ने क्षमता भएपनि अहिले प्रति घण्टा १५ सय लीटर मात्र उत्पादन गरिएको छ । उद्योगमा हाल आधा लिटर र एक लिटरका साथै २० लिटरको जारमा समेत पानी उपलब्ध गराईएको रेसुङ्गा जल प्रालिका अध्यक्ष कुँवरले जानकारी दिनुभयो । उद्योगबाट उत्पादित पानी पहिलो चरणमा जिल्लामै खपत गर्ने बताईएको छ ।
तीन जना युवा उद्यमीहरु मध्य कुँवर सिभिल इन्जिनियर, पन्थी मेकानिकल इन्जिनियर र पुन प्राविधिक क्षेत्रमा काम गर्ने युवाहरु हुनुहुन्छ । माध्यमिक तहसम्म एउटै विद्यालयमा सँगै अध्ययन गरेका तीन जना साथीहरूको आपसी सल्लाहमा आफ्नै ठाउँमा केही नयाँ काम गर्ने सोंचले पानी उद्योग सञ्चालनमा ल्याएको
रेसुङ्गा जल प्रालिका सञ्चालक राम पन्थीले बताउनु भयो ।
गुल्मी जिल्लामा पहिलो पटक यसरी युवाहरुले पानीको उद्योग स्थापना गरेसँगै सबैले उहाँहरुको कामको सह्राना गर्न थालेका छन ।