३ चैत्र २०८१, सोमबार
जेष्ठ नागरिक तथा फरक क्षमता भएकालाई सम्मान

गुल्मी, २५ माघ । गुल्मीको रेसुंगा नगरपालिकाले जेष्ठ एवं फरक क्षमता भएका नागरिकहरूलाई स्वास्थ्य परीक्षण तथा सम्मान गरेको छ । रेसुंगा नगरपालिका वडा २ नम्बर वडा कार्यालयको आयोजना एवं धागीथुम टोल विकास संस्थाको संयोजनमा जेष्ठ तथा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षणसँगै उनीहरुलाई थर्मस, हर्लिक्स र न्यानो टोपी प्रदानगरि सम्मान गरिएको हो ।
कार्यक्रमका रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवि कुँवरले जेष्ठ नागरिकहरुलाई थर्मस, हर्लिक्स र न्यानो टोपी प्रदान गरी सम्मान गर्नु भएको थियो । सोही अवसरमा उप प्रमुख कुँवरले वडाले जेष्ठ नागरिकहरूका लागि अनुकरणीय काम गरेको बताउनु भएको थियो । उहाँले वर्तमान वडाअध्यक्ष हिरा बहादुर थापा नेतृत्वको जनप्रतिनिधिहरुको पहलमा वडामा अत्यावस्यक ठाउँमा सडक निर्माणदेखि जेष्ठ नागरिक तथा फरक क्षमताका नागरिकहरुको क्षेत्रमा अनुकरणीय काम गर्दै आएको बताउनु भयो ।
उहाँले वडा कार्यालयले जेष्ठ नागरिकहरुलाई सम्मानसँगै उहाँहरुको इच्छाअनुसार विभिन्न तीर्थस्थलहरुमा समेत भ्रमण गराउने गरिएको भन्दै यो कार्यले जेष्ठ नागरिकहरुप्रतिको सम्मानका अतिरिक्त उहाँहरुको भावनालाई कदर गर्न सकेको बताउनुभयो । वडाअध्यक्ष हिरा बहादुर थापाले वडाको सामाजिक विकास कार्यक्रम अन्र्तगत यसरी जेष्ठ तथा अपांगता भएका नागरिकहरुलाई सम्मान गर्नुलेसमाजमा सकारात्मक सन्देश प्रवाहका लागि सहयोग पु¥र्याउने विश्वास व्यक्त गर्नु भयो ।
शारीरिक रुपमा अशक्त र वडा कार्यालयमा उपस्थित हुन नसकेका जेष्ठ तथा अपांगता भएका नागरिकहरुलाई घरघरमै पुगी हर्लेक्स, थर्मस, न्यानो टोपी सहित सम्मान गरिएको धागिथुम टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद खनालले बताउनुभयो ।
कार्यक्रममा वडाका जेष्ठ नागरिक ३६ जना र अपांगता भएका १३ जना गरी कुल ५३ जनालाई सम्मान गरिएको थियो । सोही अवसरमा धागीथुम आधाभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीहरुद्वारा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै दीर्घ रोगीहरुले नियमित खाने औषधी समेत वितरण गरिएको थियो ।