३ चैत्र २०८१, सोमबार
सेवा प्रवाहमा कसैसँग कम्परमाईज हुँदैन ः नगरप्रमुख पन्थी

जनार्दन घिमिरे
गुल्मी, २७ माघ । गुल्मीको रेसुङ्गा नगरपालिकाले १६ औं नगरसभाले तीनवटा विधेयक पास गरेको छ । गत पुस ९ गतेबाट शुरु भएको नगरपालिकाको आईतबार सम्पन्न १६ औं नगरसभाले पर्यटन विकास विधेयक २०८१, बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०८१ र स्थानीय वन विधेयक सर्वसम्बत रुपमा २०८१ बहुमतले पारित गरेको हो ।
नगरसभाको पहिलो बैठकबाट रेसुङ्गा नगरपालिका वडा नं १४ लाई विभाजन गरी दुइवटा वडा बनाउने प्रस्ताव पारित भएको थियो । पहिलो बैठकमा विधायन समितिका संयोजक कृष्णप्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको विधेकहरु माथि आईतबार भएको दोश्रो बैठकमा सभाअध्यक्ष तथा नगरप्रमुख खिलध्वज पन्थीले नगरसभाका सदस्यहरुलाई बोल्नका लागि समय उपलब्ध गराउनु भएको थियो ।
विधेयकहरुमाथि नगरसभाका सदस्य यज्ञमूर्ति थापा श्रीस र कृष्णप्रसाद भण्डारीले केही संशोधनका लागि सुझाव प्रस्तुत गरेसँगै सभाअध्यक्ष पन्थीले निर्णयार्थ प्रस्तुत गर्नुभएका विधेयकहरु नगरसभाबाट बहुमतले पारित भएकाहुन ।
नगरसभाका सदस्यहरुलाई सम्बोधन गर्दै सभाअध्यक्ष तथा नगरप्रमुख पन्थीले जनताबाट निर्वाचित भएको दुइ वर्षको अवधिमा थोरै स्रोत साधनको अभावमा पनि विकासले लय समात्दै गएको बताउनुभयो । उहाँले दिनानुदिन नागरिकहरुमा आशा र आवश्यकता बढ्दै गएको भन्दै नरसभाका सदस्यहरूलाई दिन गनेर काम गर्न आग्रह गर्नुभएको थियोे ।
आफु नगरवासीको हित र विकासका लागि पवित्र मनले काम गरिरहेको भन्दै उहाँले नगरपालिकालाई भरोसा, आशा र विस्वासयोग्य बनाउँदै संमृद्धिको यात्रामा सबैलाई साथ लिएर अघि बढ्नु पर्ने बताउनु भयो । सेवा प्रवाहमा कसैसँग पनि सम्झौता नहुने भन्दै नागरिकलाई पहिलो प्राथमिकतामा राखेर काममा तिब्रता दिनुपर्ने उहाँको भनाई थियो ।
राजनीतिलाई चरित्र र संस्कारका आधारमा बदल्नुपर्ने समय आएको भन्दै नगर प्रमुख पन्थीले विकासका कामलाई थप परिष्कृत गर्दै नगरवासीको समुन्नतिको यात्रामा निरन्तरता दिन आग्रह गर्नुभयो ।