३ चैत्र २०८१, सोमबार
गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु

गुल्मी, ३ फागुन । जिल्ला सदरमुकाम तम्घास स्थीत गुल्मी अस्पतालमा विद्युतिय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको छ । विश्व स्वास्थ्य संगठनद्वारा लुम्बिनी प्रदेश अन्तरगत गुल्मी अस्पतालमा पहिलो पटक उक्त अभिलेख प्रणाली सुरु गरिएको हो ।
विद्युतिय चिकित्सा अभिलेख प्रणाली सुरु भएसँगै अस्पतालबाट उपलब्धहुने सबै प्रकारका सेवा डिजिटल प्रबिधिको माध्यममा स्पष्ट देखिने भएको छ । विश्व स्वास्थ्य संगठन नेपालका डा.एलीसन गोकोटना र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुल्मी अस्पताललाई उक्त सामग्रि हस्तान्तरण गर्नु भएको हो ।
विद्युतिय चिकित्सा अभिलेख प्रणाली सुुरु गर्दै विश्व स्वास्थ्य संगठन नेपालका डा. गोकोटनाले यो सेवाबाट नागरिकलाई धेरै सहजता पुराउने भन्दै जिल्लावासीहरुले यसको अधिकतम प्रयोग गरेर सेवालिन आग्रह गर्नुभएको छ । यस अभिलेख प्रणालीबाट बिलिङ्, टिकटिङ्, डाक्टरको उपलब्धता, औषधी लगायत विवरण अभिलेख प्रणाली मार्फत जानकारी पाउन सकिने अस्पतालका निमित्त कार्यालय प्रमुख बैभव बस्यालले जानकारी दिनुभयो । यसबाट बिरामीहरुलाई बिगतदेखि वर्तमानसम्मका बिवरण सहजै रुपमा उपलब्ध हुने बताईएको छ ।
विद्युतिय चिकित्सा अभिलेख प्रणालीको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले यो सेवा शुचारुभएसँगै बिरामीलाई कागजी प्रक्रियाको झन्झट नहुने बताउनु भयो । उहाँले स्वास्थ्य मन्त्रालय मातहतमा रहेका सबै सवारी साधनहरुमा जिपीएस जडान गर्ने, शुल्क सहितको नागरिक वडापत्र राख्ने,सरकारी अस्पतालमा काम गर्ने डाक्टरहरुको नाम देखिनेगरि राख्ने लगायतका कामहरु सुुरु गरेको बताउनु भयो ।
विश्व स्वास्थ्य संगठन नेपालका अधिकृत सुदन ज्ञवालीले विद्युतिय चिकित्सा अभिलेख प्रणाली मार्फत बिरामीको समय, खर्चको वचत हुनुका साथै परीक्षणमाहुने दोहोरोपनको अन्त्यका अतिरिक्त स्वास्थ्य सम्बन्धी नीति निर्माणमा एकीकृत तथ्याङ्क प्राप्तहुने बताउनु भयो । यसबाट सेवा प्रवाह द्रुत, चुस्त र प्रभावकारीहुने उहाँको भनाई छ । यो प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा पहिलो हो । ५० शैया रहेको गुल्मी अस्पतालमा अर्घाखाँची, प्यूठान, बाग्लुङ्ग, लगायतका जिल्लाका नागरिकहरुले सेवालिदै आईरहेका छन ।