८ बैशाख २०८२, सोमबार
नेपाली सेनाद्वारा मुसिकोट दरबार क्षेत्रको संरक्षणमा सहयोग

जनार्दन घिमिरे
गुल्मी, २८ चैत । नेपाली सेनाद्वारा गुल्मीको ऐतिहासि, धार्मिक तथा पुरातात्यीक स्थल मुसिकोट दरबारको संरक्षणमा सहयोग गरेको छ । नेपाली सेनाको मध्य पश्चिम पृतनाको आयोजना, २२ बाहिनी अड्डा बुटवलको संरक्षण तथा राम बाण गुल्मका सेनानी तिलक केसीको नेतृत्वमा दरवार क्षेत्रमा मेशिनरी वाल तथा रेलिङ् निर्माणसँगै रङ्रोगन समेत गरिएको छ ।
मुसिकोट दरबारमा २० मिटर लम्बाईको वाल र २१ मिटरको रेलिङ् निर्माण गरिएको राम बाण गुल्मका सेनानी तिलक केसीले जानकारी दिनुभयो । दुवै संरचना नेपाली सेनाका मध्य पश्चिम पृतनाका पृतनापती उपरथी प्रेम बहादुर पुनले एक कार्यक्रमका बीच मुसिकोट नगरपालिकाका प्रमुख जीवलाल खरेल जीवनलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उपरथी पुनले जनहित कार्यक्रम अन्तरगत सेना र नागरिकको सम्बन्धलाई थप सुदृढ बनाउन क्वीक इम्प्याक्ट प्रोजेक्ट योजना अन्र्तगत सेनाले सामाजिक काम गर्दै आएको बताउनुभयो ।
उहाँले ऐतिहासिक एवं पुरात्वातिक स्थलको संरक्षण एवं पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले नेपाली सेनाले मुसिकोट दरवारमा थोरै भएपनि भौतिक संरचना निर्माणमा सहयोग गरेको बताउनु भएको थियो । कार्यक्रममा मुसिकोट नगरपालिकाको तर्फबाट नगर प्रमुख खरेलले मुसिकोटको पहिचानको रुपमा रहेको दरवार क्षेत्रमा नेपाली सेनाले गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले तीनै तहका सरकार मार्फत मुसिकोटको विकासमा थुप्रै काम भएको बताउँदै नेपाली सेनाले गरेको कामले थप ईटा थपेको बताउनुभयो ।
नाइसा कन्ट्रक्सन सप्लार्यस प्रालीद्वारा सात लाख ३६ हजार २८३ रुपैयाँको लागतमा उक्त काम सम्पन्न गरिएको हो । कार्यक्रमा वडाध्यक्ष रबिन्द्र केसी, मुसिकोट दरबार व्यवस्थापन समितिका अध्यक्ष लगायतका व्यक्तिहरुले मुसिकोट दरबारको ऐतिहासिक एवं पुरतात्यीक महत्वको बारेमा जानकारी गराउनु भएको थियो ।