गुल्मीको कालीगण्डकी गाउँपालिकाद्वारा विद्यालय सञ्चालन गर्न निर्देशन

admin

२०८२ बैशाख १३ गते, शनिबार २१:४० मा प्रकाशित

गुल्मी, १३ वैशाख । गुल्मीको कालीगण्डकी गाउँपालिकाले भोली आईतबारदेखि नियमित रुपमा विद्यालय सञ्चालन गर्न निर्देशन गरेकोे छ ।

शिक्षक महासंघको आव्हानमा भएको शिक्षक आन्दोलनका कारणपालिका भित्रका सम्पूर्ण विद्यालयहरुको अध्ययन अध्यापनमा समस्या परेको भन्दै विद्यालय खोल्न निर्देशन गरेको हो । पालिकाले सूचना जारी गरि भोली आईतबारदेखि विद्यालय समयमा अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुन नियमित रुपमा पठनपाठन सञ्चालन गर्न सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई अनुरोध गरेको छ ।

पालिकाले यदि उक्त समयमा उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीहरुलाई राजीनामा दिन वा सरुवा प्रकृया अघि बढाई जान समेत कडा निर्देशन गरेको छ । कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले सार्वजनिक रुपमा सूचना प्रकाशित गरि उक्त निर्देशन दिनुभएको हो ।

गाउँपालिकाले पालिका भित्रका सम्पूर्ण सामुदायीक विद्यालयहरुलाई लिखित रुपमा पत्र मार्फत अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशित गरेपछि आन्दोलनरत शिक्षकहरु थप अन्योलमा परेका छन । शिक्षकहरुले भने पालिकाको उक्त निर्णय सच्याउन अध्यक्षलाई आग्रह गरेका छन । तर गाउँपालिका अध्यक्ष थापाले भने निर्णय नसच्चिने भन्दै भोलीदेखि नियमित रुपमा विद्यालयहरु सञ्चालन हुने बताउनु भयो । उहाँले आन्दोलनका नाममा विद्यार्थीहरुको भविष्य माथि पनि खेलवाड गर्न नहुने टिप्पणी गर्नु भयो ।

शिक्षक महासंघको आन्दोलनका कारण लामो समयसम्म सामुदायिक विद्यालय बन्दहुँदा जिल्लामा परीक्षाफल प्रकाशनका अतिरिक्त विद्यार्थीहरुको भर्ना अभियान समेत थप प्रभावित बनेको छ । कालीगण्डकी गाउँपालिकाले विद्यालय खोल्न निर्देशन दिएसँगै जिल्लाका अन्य पालिकाहरुलाई पनि विद्यालय खोल्नका लागि थप दवाव पर्ने बताईएको छ ।