गुल्मीमा साताको तीन पटक हवाई उडान हुने

admin

२०८२ बैशाख २६ गते, शुक्रबार १८:२० मा प्रकाशित

गुल्मी, २६ वैशाख । गुल्मीको रेसुङ्गा विमानस्थलमा आईतबारदेखि साताको तीन पटक हवाई उडान हुने भएको छ । यस अघि बिहिबार मात्र उडान हुँदै आएकोमा अबदेखि नियमित रुपमा आईतबार, मंङ्गलबार र बिहीबारका लागि नेपाल वायुसेवा निगमद्वारा उडान थप गरिएको नेपाल वायु सेवा निगम रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एरलायन्स) सँग भएका दुइ वटा ट्वीनअटर जहाज मर्मत भएसँगै रेसुङ्गा विमानस्थलमा उडान तालिका थप गरिएको हो । यस अघि सातामा एक पटक बिहीबार मात्र उडान हुँदै आएको थियो । वायुसेवा निगमको जहाज ग्राउन्डेड भएपछि जिल्लामा तीन महिना सवाई सेवा अबरुद्ध बनेको थियो ।

नेपाल वायुसेवा निगमले २०८० बैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक रुपमा हवाई उडान शुरु गरेको थियो । निगमले जिल्लामा व्यावसायिक उडान गरेसँगै शुरुमा सातामा तीन पटकसम्म उडान गरेपनि पछि घटाएर सातामा एक पटक मात्र उडान गर्दै आईरहेको थियो ।

गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाण्डौबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ ः३० बजे उडान समय निर्धारण गरेको छ । निगमले काठमाडौंबाट गुल्मीका लागि ७ हजार पाँच सय रुपैंया र गुल्मीदेखि काठमाडौंका लागि ७ हजार तीन सय रुपैयाँ भाडादर निर्धारण गरेको छ । रेसुङ्गा विमानस्थलमा दिउसोको समयमा अत्याधिक हावाको चाँपका कारण प्राबिधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गरिदै आएको छ ।

पछिल्लो समयमा गुल्मीमा हवाई उडान शुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं वाह्य पर्यटकहरुको संख्यामा समेत बृद्धिहुँदै गएको छ । जिल्लामा हवाई सेवा लिनका लागि यात्रुहरुको अत्याधिक चाँप हुने गर्दछ ।