माछा मार्न गएका एक व्यक्ति मृत फेला

admin

२०८२ बैशाख ३० गते, मंगलवार १७:२३ मा प्रकाशित

गुल्मी, ३० वैशाख । खोलामा माछा मार्न गएको अबस्थामा गुल्मीमा एक जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको छत्रकोट गाउँपालिका –२ दाँइछाप बुटिलगाँउ निवासी ४५ वर्षीय ज्ञान बहादुर राकस रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक गंगाबहादुर सारुले जानकारी दिनुभएको छ ।

राकसको शव मंगलबार बिहान जिल्लाको छत्रकोट गाउँपालिका –१ बोटेगाउँको रेग्दी छहरा स्थित बडिगाढ खोलाको किनारमा घोप्टो अबस्थामा मृत अबस्थामा फेला परेको थियो । सोमबार अपरान्ह घरबाट माछा मार्न भनि खोलामा निस्किनु भएका राकस राती अबेरसम्म पनि घरमा नफर्केपछि परिवारद्वारा उहाँको खोततलास भैरहेको थियो ।

चन्द्रकोट गाउँपालिका –७ का स्थानीय जिवन माझीले मंगलबार बिहान अचानक खोलामा घोप्टो परेको अबस्थामा शव देखेपछि प्रहरीमा जानकारी गराउनु भएको थियो । घटनाको जानकारी पाएपछि श्रृङ्गा र रिडीबाट प्रहरी टोली घटना स्थलमा पुगिसकेको छ । घटनाको बारेमा थप अनुषन्धान भैरहेको प्रहरीले जनाएको छ । सोमबार मध्यान्हपछि गुल्मीमा हावाहुरी सहित भिषण वर्षाद भएको थियो ।