१८ औँ गणतन्त्र दिवसको अवसरमा चन्द्रकोटमा रक्तदान शिविर 

admin

२०८२ जेष्ठ १७ गते, शुक्रबार ०६:४० मा प्रकाशित

रेसुङ्गा समाचारदाता

गुल्मी, १५ जेठ । चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा १८ औँ गणतन्त्र दिवसको

अवसरमा रक्तदान शिविर सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा संचालित शिविर उद्‍घाटन समारोहमा पालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, वडाध्यक्षहरु, नेपाल रेडक्रस सोसाईटी, रक्त संचार केन्द्र, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू, कर्मचारी लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

शिविर नेपाल शिक्षक महासंघ चन्द्रकोट, नेपाल रेडक्रस सोसाईटि शान्तिपुर उपशाखा, उद्योग बाणिज्यसंघ शान्तिपुर, बजार व्यवस्थापन समिति तथा उदय शान्ति यूवा क्लवको सह आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रुपन्देहीको प्राविधिक सहयोगमा संचालन भएको थियो।

गत बर्ष देखि रक्तसंचार केन्द्र बुटवलसँग पालिकाले चन्द्रकोट गाउँपालिकाका स्थायी बासिन्दाहरुलाई रुपन्देहीको विभिन्न स्वास्थ्य संस्थामा उपचारको क्रममा रगत आवश्यक परेमा निशुल्क उपलब्ध गराउने गरी संझौता गरेको थियो ।

शिविर मार्फत कुल १०५ जना रक्तदाताहरुबाट १०५ पिन्ट रगत संकलन गरिएको थियो ।