गुल्मीको छत्रकोटमा दीर्घरोगीहरुलाई मासिक एक हजार जीविकोपार्जन भत्ता

admin

२०८२ जेष्ठ २२ गते, बुधबार १३:३४ मा प्रकाशित

रेसुंगा समाचारदाता गुल्मी, १९ जेठ । गुल्मीको छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीहरुलाई मासिक रुपमा एक हजार रुपैयाँ जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । पालिकाले मृगौला प्रत्यारोपण तथा डायलाईसिस गराईरहेका, गंभिर मुटुरोगी (ओपन हर्ट सर्जरी) क्यान्सर र मेरुडण्डको पक्षघातका बिरामीहरुका लागि उक्त जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको गाउँपालिका अध्यक्ष रामप्रसाद पोण्डेले जानकारी दिनुभएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्यपालिका बैठकबाट मासिक रुपमा जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । पालिकाले सूचना प्रकाशन गरी उक्त भत्ता प्राप्त गर्नका लागि बिरामीहरूले सक्कल निवेदन सहित मेडिकल रिपोर्ट, नागरिकताको प्रतिलिपि, चेकको प्रतिलिपि सम्बन्धित वडा कार्यालयको सिफारिस पेश गर्नुपर्ने जनाएको छ ।

उक्त सबै प्रकृया पुरा गरेपछि बिरामीको खातामा बार्षिक रुपमा उक्त भत्ता जम्मा हुने स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताउनु भयो । गाउँपालिका भित्र उक्त प्रकृतिका हाल ७५ बिरामीहरु रहेको पोख्रेलले जानकारी दिनुभयो । छत्रकोट गाउँपालिकाले विपन्न बिरामीहरुका लागि पनि बिरामीहरुलाई रोगको प्रकृति हेरेर दश हजार रुपैयाँदेखि २५ हजारसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।