एक करोड ८४ लाख लागतमा छल्दी खेलामा झोलुङ्गे पुल निर्माण

admin

२०८२ जेष्ठ ३१ गते, शुक्रबार १७:४४ मा प्रकाशित

रेसुंगा समाचारदाता गुल्मी, २८ जेठ । जिल्लाको धुर्कोट गाउँपालिका र इस्मा गाउँपालिका जोड्नका लागि छल्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । धुर्कोटको वस्तु र इस्माको राङ्दलचौर जोड्नका लागि छल्दीमा ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो ।

सस्पेन्सन ब्रिज डिभिजन ललितपुर मार्फत एक करोड ८४ लाखको लागतमा निर्माण गरिएको उक्त झोलुङ्गे पुलको ७ सय ९९ जना मानिस अट्ने भारवाहन क्षमता रहेको छ । छल्दी खोलामा निर्माण गरिएको झोलुङ्गे पुलले स्थानीयहरुको घण्टौंको दुरीलाई घटाउनुका साथै नागरिकहरुलाई सहज बनाएको छ ।

उक्त पुलको बुधबार नेकपा एमाले केन्द्रिय कमिटी सचिव तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले उद्घाटन गर्नु भएको हो । पुलको उद्घाटन गर्दै सांसद बिष्टले भुगोलका हिसाबले पहाडी क्षेत्रमा टाढाटाढा रहेका वारी र पारीका गाउँलाई जोड्नका लागि झोलुङ्गे पुलले विकासमा अलग्गै महत्व बोकेको बताउनु भयो ।

२०७४ सालमा क्षेत्र नं २ मा २७ वटा झोलुङ्गे पुलका योजना समावेश गरिएकोमा अधिकांश पुल निर्माण सम्पन्न भएकोे बिष्टले बताउनु भयो । त्यसका अतिरिक्त पुल, सडक, खानेपानी, सिँचाई लगायतका पुर्वाधार निर्माणले यस क्षेत्रमा समृद्धिको यात्रा सुरु भएको उहाँले दावी गर्नु भएको छ ।

पुलले मदनभण्डारी राजमार्ग अन्तरगत तम्घास–सिमलटारीबाट यात्रालाई नजिक बनाएको छ । झोलुङ्गे पुल निर्माण भएसँगै धुर्कोट गाउँपालिका –५ स्थित वस्तुमा रहेको बिचित्र गुफामा पुग्ने आन्तरिक एवं वाह्य पर्यटकहरुको संख्यामा समेत वृद्धि भएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले जानकारी गराउनुभयो ।

मदनभण्डारी राजमार्गबाट पुल तरेपछि १० मिनेटमा बिचित्र गुफा पुग्न सकिने भएको छ । लामो पुलका कारण यस क्षेत्रको पर्यटन विकासमा समेत थप टेवा पुगेको छ । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले तिनै तहका सरकारको समन्वयमा उक्त क्षेत्रमा थुप्रै विकास निर्माणका कामहरु अगाडि बढीरहेको बताउनुभयो ।


झोलुङ्गे पुलले जिल्लाको पर्यटकीय स्थल बिचित्र गुफालाई समेत यतिबेला राजमार्गबाट नजिक बनाएको छ । पुल नहुँदा खोला तर्ने बाध्यतामा रहेका स्थानीय र हिमालय मावि पुग्ने बिद्यार्थीहरुलाई समेत ठूलो राहत पुगेको स्थानीय बोमलाल भण्डारीले बताउनु भएको छ ।

लामो तथा अग्लो स्थानमा निर्माण गरिएको झोलुङ्गे पुलका कारण त्यस क्षेत्रमा दैनिक घुम्न, टिकटक बनाउन र तस्बिर खिचाउन आउने आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । उक्त पुलको निर्माण निलगिरी निर्माण सेवा प्रालिले गरेकोे थियो ।