२७ फाल्गुन २०८२, बुधबार
चन्द्रकोटमा समुदायमा आधारित पुनस्थापना कार्यक्रम
रेसुंगा समाचारदाता गुल्मी, ३० जेठ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा समुदायमा आधारित पुनस्थापना कार्यक्रम अन्तरगत अपाङ्गता भएका व्यक्तिहरुका लागि विविध सामग्रीहरु बितरण गरिएको छ । आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजना, चन्द्रकोट गाउँपालिकाको समन्वय र सामाजिक विकास मन्त्रालय अन्तरगत सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा गुल्मी जिल्ला अन्तरगत चन्द्रकोट गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग पुराउने उद्देश्यले सहायता सामग्री, विउँ पुजीका लागि नगद, औषधि उपचार रकम तथा शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले सामग्री हस्तान्तरण गर्दै समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई थुप्रै समस्या र चुनौतीहरु बेहोर्नु परेको भन्दै सरकारले त्यस्ता व्यक्तिहरुलाई जीविकोपार्जन गर्ने आधारहरु तय गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सोही कार्यक्रममा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीले गाउँपालिका मार्फत अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्दै आईहेको भन्दै यस्ता प्रकारका कार्यक्रमले उनीहरुमा आत्वविस्वास बढ्नुका साथै उनीहरुमा थप हौसला थपिने बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, वडा नं १ का अध्यक्ष एवं प्रवक्ता घनश्याम खरेल लगायतले समुदायमा आधारित पुनस्थापना कार्यक्रमले पालिका भित्र रहेका अपाङ्गताभएक व्यक्तिहरुलाई थप सहयोग पुराएको बताउनु भएको थियो ।
उक्त कार्यक्रम मार्फत चन्द्रकोट गाउँपालिका भित्रका ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकताका आधारमा सहायता सामाग्री बितरण, आयमुलक तथा सीपमुलक व्यवसाय प्रबद्र्धन अनुदान, औषधि उपचार तथा स्वास्थ्य सहयोग मार्फत नगद तथा विद्यार्थीहरुका लागि झोला, कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्षहरु तथा सदस्यहरु, पालिका स्तरीय अपाङ्गगता समन्वय समितिका प्रतिनिधिहरु, शिक्षक, कर्मचारी, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावक लगायतको सहभागिता रहेको थियो ।


