मानव अधिकार वर्षपुस्तकको अर्धबार्षिक समीक्षा

admin

२०८२ असार ५ गते, बिहीबार १९:२४ मा प्रकाशित

रेसुंगा समाचारदाता गुल्मी ५ असार । गुल्मीमा नेपाल मानवअधिकार वर्षपुस्तक २०२६ का लागि संकलन गरिएको घटनाहरुको अर्ध–बार्षिक समीक्षा सम्पन्न गरिएको छ । सदरमुका तम्घासमा आयोजित कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले अर्धबार्षिक रुपमा संकलन गरिएका घटनाहरुको बारेमा जानकारी गाराउनु भएको थियो । समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि अर्यालले जिल्लामा बलात्कार र यौन दुव्र्यबहार, कुटपीट तथा झैझगडा, मानसिक यातना, गालीगलौज, खान लगाउन नदिएको, बहुबिबाह लगायतका गरी ४३ वटा घरेलु हिंसाका घटनाको बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले इन्सेकले पटकपटक मानव अधिकारका बिषय उठाएर सरोकारवालालाई नैतिक दवाब दिइरहेको बताउनु भयो । उहाँले वालवालीका संरक्षण, कारागार व्यावस्थापन र बजार लगायतका क्षेत्रमा अनुगमन प्रभावकारी बनाउन नसकिएको भन्दै इन्सेकको खबरदारीले जिल्लामा महत्वपूर्ण सहयोग पुगेको बताउनु भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले सडक वालवालीका व्यावस्थापन निकै ठूलो समस्या चुनौतीको विषय बनिरहेको बताउनु भयो ।

नेपाल बार एशोसियसन गुल्मीका अध्यक्ष गोपाल खनालले प्रहरीमा आउने पीडित, गरीव तथा विपन्न नागरिकले निशुल्क रुपमा पाउनुपर्ने कानुनी सहायता नपाएको प्रति प्रहरी प्रमुखको ध्यानाकर्षण गराउनु भएको थियो । समीक्षा कार्यक्रममा नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेले वर्तमान अबस्थामा मानव अधिकारका घटनाहरु सुनाउने ठाउँ हराउँदै गएको टिप्पणी गर्नुभयो । उहाँले जिल्ला स्थीत राजनैतिक दलहरुमा सामाजिक चासो हराउँदै गएको भन्दै प्रचारमुखी दलहरु र मानव अधिकारको कार्ययोजना बिहिन स्थानीय तहका कारण आम नागरिकले मानव अधिकारको प्रत्याभूति गर्न नसकेको बताउनुभयो । पाण्डेले सदरमुकामका विद्यालय र अस्पतालमा भएको बेथितिको बारेमा सरोकारवाला पक्षले खबरदारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।