विद्युत मर्मत गर्ने क्रममा करेण्ट लागेर गुल्मीमा एक युवकको ज्यान गयो

admin

२०८२ असार १४ गते, शनिबार १४:४५ मा प्रकाशित

रेसुंगा समाचारदाता

गुल्मी, १४ असार । गुल्मीमा विद्युत मर्मत गर्ने क्रममा करेण्ट लागेर एक युवकको ज्यान गएको छ । ज्यान जानेमा धुर्कोट गाउँपालिका –७ वाग्लाका ४० वर्षीय झबिन्द्र घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक गंगा बहादुर सारुले जानकारी दिनुभएको छ ।

धुर्कोट गाउँपालिका –७ द्वानेटामा रहेको राष्ट्रिय प्रशारण लाईनको पोलमा चढेर विद्युत मर्मत गर्ने क्रममा घिमिरेलाई आज बिहान अचानक करेण्ट लागेको थियो । विद्युतको करेण्ट लागेर घाईते हुनुभएका घिमिरेको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा आज अपरान्ह मृत्यु भएको प्रहरी नायव उपरिक्षक सारुले बताउनुभयो ।

घटनाको जानकारी पाउना साथ प्रहरी चौकी मर्भुङबाट प्रहरी सहायक निरिक्षक. दिपक शाहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाको बारेमा थप अनुषन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मी बितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले भने उक्त व्यक्ति कार्यालयको कुनै पनि कर्मचारी नभएको बताउनुभयो । “उहाँ कार्यालयको कर्मचारी पनि हैन, हामीले ज्यालादारीमा राखेका पनि छैनौ, किन कसरी हामीलाई जानकारी नदिई पोलमा चढ्नुभयो भन्ने थाहा पनि भएन, निवेदन आयो भने हामी पनि कार्यालयको तर्फबाट यस बारेमा थप अनुषन्धान गर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो ।