गुल्मीमा पहिलो बालश्रममुक्त स्थानीय तह घोषणा गर्नेमा धुर्कोट गाउॅपालिका 

admin

२०८२ असार १८ गते, बुधबार १८:१० मा प्रकाशित

रेसुंङ्गा समाचारदाता

गुल्मी, १८ असार । गुल्मीको धुर्कोट गाउँपालिका जिल्लामा पहिलो पटक बालश्रममुक्त स्थानीय तह घोषणा भएको छ । धुर्कोट गाउँपालिकाको १७ औ गाउँसभाले बुधबार बालश्रम मुक्त स्थानीय तह घोषणा गरेको हो ।

धुर्कोट गाउँपालिकाले आगामी वर्ष गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्दै छ । सोहि अभियानको क्रममा अहिले पालिकालाई बालश्रम मुक्त घोषणा गरिएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो ।

अभियानको क्रममा दुई सडक बालबालीकालाई आवासीय सुविधासहित अध्ययनको ववस्थापन गरिएको, दुई जना होटलमा काम गर्ने, दुई जना ट्याक्टरमा कामगर्ने बालकलाई छुटाएर अभिभावको जिम्मा लगाइएको गाउँपालिका अध्यक्ष पोख्रेलले बताउनुभयो ।

उहाँले ११ जना बालबालीकालाई सात दिने सीपमूलक हाउसवाइरिङ्ग तालिम प्रदान गरेर आयआर्जनमा जोडिन सक्ने अवस्था निर्माण गरिएको बताउनुभयो । धुर्कोट गाउँपालिकाले अहिलेसम्म पोषणमैत्री, संस्थागत सुत्केरी, पूर्णखोप, खरका छाना मुक्त लगायतका राष्ट्रिय अभियान पुरा गरिसकेको पोख्रेलले बताउनुभयो ।

बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ अनुसार घरधुरि सर्वेक्षण, पालिकका सम्पुर्ण वडाहरुमा बालश्रम निवारण सम्बन्धि चेतनामुलक तथा मनोपरामर्श कार्यक्रम, तालिम, वडाहरुमा पालिकास्तरीय समितिबाट अनुगमन गरेर पालिका घोषणाको चरणमा आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताउनुभयो ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बालश्रम मुक्त स्थानीय तह घोषणाको लागि चालु आर्थिक बर्षमा तीन लाख बजेट बिनियोजन भएको पन्थीले बताउनुभयो । केहि दिन अघि धुर्कोट गाउँपालिका अन्तरगत वडा नं –१ को नयाँगाउँलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । आगामी बर्ष बालमैत्री पालिका घोषणाको लागि बालबिबाह मुक्त गर्ने, अनिवार्य भर्ना लगायत अभियान सम्पन्न गर्न कार्यान्वयनमा रहेको पन्थीले बताउनुभयो ।

बुधबार धुर्कोट गाउँपालिकाको १७ औ गाउँ सभाले आर्थिक बर्ष २०८२÷०८३ को बार्षिक बजेट, आर्थिक एवं बिनियोजन विधेयक पारित गरेको छ । त्यस्तै सभामा अनुगमन तथा सुशासन समिति र न्यायीक समितिको बार्षिक प्रतिवेदन प्रस्तुत, आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन पेश, लेखा समिति सम्बन्धि कार्यविधि, वेरुजु फस्र्यौट कार्यविधि र मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धि कार्यविधि सभामा पेश भएको गाउँपालिकाको उपाध्यक्ष सिता गिरीले जानकारी दिनुभयो ।

स्थानीय तहबाट बालश्रम अन्त्यको घोषणाहुनुले यस क्षेत्रको सामाजिक विकास र बालअधिकाको प्रवद्र्धनमा महत्वपूर्ण  उपलब्धि मानिएको छ ।