गुल्मीबाट पहिलोपटक काठमाडौँका लागि इस्क्वारपियो सवारी सञ्चालन

admin

२०८२ असार २२ गते, आईतवार १०:३३ मा प्रकाशित

रेसुंगा समाचारदाता

गुल्मी, २२ असार। रुरु रेसुंगा यातायात प्रालिले गुल्मीको सदरमुकाम तम्घासदेखि काठमाडौँसम्मको लामो दूरीको यात्रालाई लक्षित गरी आजदेखि इस्क्वारपियो गाडी सञ्चालनमा ल्याएको छ।

यस सेवा अन्तर्गत सदरमुकाम तम्घासबाट काठमाडौँका लागि बिहान ५:३० बजे र काठमाडौँस्थित नयाँ बसपार्क मित्रनगरबाट तम्घासका लागि बिहान ६:०० बजे इस्क्वारपियो गाडी छुट्नेछ। यात्राको भाडादर एक जना यात्रुका लागि २५०० रुपैयाँ निर्धारण गरिएको छ।

दुबै तर्फबाट दैनिक एक-एकवटा सवारी साधन सञ्चालन हुनेछ भने हालको लागि उक्त सवारी रामपुर (पाल्पा) हुँदै सञ्चालनमा ल्याइएको छ। एक गाडीमा सात जना यात्रु सिट क्षमता रहेको जानकारी दिइएको छ।

टिकट प्राप्त गर्ने स्थान तम्घासको भगवती मन्दिर नजिकको काउन्टर र काठमाडौँको एक्चुअल होलिडे होटल (नयाँ बसपार्क मित्रनगर) रहेको छ।

सेवा शुभारम्भको अवसरमा आज यात्रुहरूलाई टिका र खादा लगाई बिदाई गरिएको थियो। रुरु रेसुंगा यातायात प्रालिका अध्यक्ष बषन्त श्रेष्ठका अनुसार यात्रुहरूलाई छिटो, सुरक्षित र सहज सेवा दिनका लागि जिल्लाबाट पहिलो पटक लामो दूरीको इस्क्वारपियो सेवा सुरु गरिएको हो।

संस्थाका उपाध्यक्ष सुमन कार्कीका अनुसार यातायात प्रालिले विगत आठ वर्षदेखि जिल्लाभित्र तथा पाल्पा र बुटवलसम्म यातायात सेवा दिँदै आएको छ।

यात्रुहरूको चाप बढेमा आगामी दिनमा थप सवारीसाधन सञ्चालन गरिने योजना रहेको सचिव उदयकुमार कार्कीले जानकारी दिनुभयो।