गुल्मीमा एक घर एक आरो फिल्टर अभियान

admin

२०८२ श्रावण ८ गते, बुधबार २१:३७ मा प्रकाशित

रेसुंगा समाचारदाता

गुल्मी, ७ साउन । गुल्मीमा ‘एक घर एक आरो फिल्टर’ अभियान सुरु भएको छ । इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले इस्मा गाउँपालिका–५ इस्मा रजस्थलका खिम बहादुर बस्नेतलाई फिल्टर प्रदान गरेर अभियानको शुभारम्भ गर्नु भएको थियो ।

इस्माली समाज युएईको सहयोगमा शुरु गरिएको उक्त अभियानले परदेशबाट पनि गाउँका स्थानीयलाई शुद्ध पिउने पानी खुवाउने पवित्र भावनाका लागि आयोजक प्रति आभार प्रकट गर्नु भएको थियो । अभियानलाई सहयोग र सहजीकरणको लागि आफुहरुले नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको भन्दै कुँवरले इस्माली समाज युएईले सामाजिक विकासको क्षेत्रमा महत्वपूर्ण काम अगाडी बढाएको बताउनु भयो ।

इस्माली समाजले शुद्ध पिउने पानीको पहुँच प्रत्येक घर, विद्यालय, कार्यालय र सार्वजनिक स्थानसम्म पु¥याउने उद्देश्य राखेको छ । संस्थाले बिशेष छुटमा चौधरी ग्रुपको गुणस्तरीय आरो फिल्टर इस्माका हरेक घर र सस्थामा एकएक वटा राख्ने योजना रहेको इस्माली समाज युएईका अध्यक्ष मानबहादुर कुवँरले जानकारी गराउनु भयो । उहाँले इस्मा गाउँपालिकाका अधिकाँश विद्यालयहरु, स्वास्थ्य चौकी, कार्यालयहरु र स्थानीय घरधुरीहरुमा अझै पनि स्वच्छ पिउने पानीको सुविधा अभावका कारण अभियानको सुरुवात गरिएको बताउनु भयो ।

प्रदुषित खानेपानीका कारण मानव स्वास्थ्यमा ठूलो असर परेको हुन्छ । अधिकाँश रोग पानीकै कारण लाग्ने भएकाले संस्थाले नागरिकलाई स्वच्छ पानीको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले खेलेको भूमिका स्वागतयोग्य रहेको फिल्टरको प्राविधिक काम गरिरहेका चौधरी ग्रुपका बायो इन्जिनीयर गणेश प्रसाद पौडेलले बताउनु भएको थियो । उहाँले फिल्टरको प्राविधिक प्रयोग र उपयोगीताको बारेमा सहजीकरण गरेका छन ।

इस्माली समाज युएई इस्मा गाउँपालिकाबाट युएईमा काम गर्नेहरुको संस्था हो । गत बर्ष स्थापना भएको संस्थाले वालवालीकाको स्वास्थ्य, शिक्षा र समुदायको समग्र जीवनस्तर सुधार गर्ने लक्ष्यका नयाँ अभियान सुरु गरेको इस्माली समाज युइईका महासचिव मनोज ज्ञवालीले बताए । उनका अनुसार अहिले पहिलो चरण ६५ वटा फिल्टर वितरण र जडान गरिने बताईएको छ ।

संस्थाले प्रत्येक वडाका विद्यालयहरुमा विद्यार्थी संख्या, भौगोलिक अवस्था र आवश्यकता अनुसार प्राथमिकता दिइने जनाएको छ । गाउँपालिकाका सबै छ वटा वडाको वडा कार्यालय, गाउँपालिका कार्यालय र स्वास्थ्य चौकीहरुमा समेत फिल्टर जडान गरिन बताईएको छ । अभियानमा सहभागी हुने करिब ६० प्रतिशत लागत चौधरी ग्रुपबाट सहयोग प्राप्त हुने भएको छ ।