गुल्मीको भार्सेमा दाताहरुको सहयोगमा कम्प्युटर कक्षा 

admin

२०८२ कार्तिक १५ गते, शुक्रबार १८:३९ मा प्रकाशित

गुल्मी, १४ कात्तिक । गुल्मीको भार्से स्थित जन सहयोग माध्यमिक विद्यालयमा कक्षा एकदेखि दश कक्षासम्म प्रबिधिमैत्री शिक्षा अन्र्तगत प्रयोगात्मक रूपमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । विद्यालयले आधुनिक शिक्षा प्रणालीसँगै विद्यार्थीहरूमा सूचना प्रविधि सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कम्प्युटर कक्षा शुरु गरेको जनाएको छ ।

हाल हङ्कङ्मा रहनुहुने सामाजिक व्यक्तित्व लेफ्टिनेण्ट कुलबहादुर बुढाथोकीको पहलमा आर्थिक संकलन गरि आठ लाख ५० हजार मूल्य बराबरका कम्प्युटर सामग्रि विद्यालयलाई प्रदान गरिएको छ । उक्त कम्प्युटरबाट कक्षामा कम्यूटर विषय नभएका विद्यार्थीहरुलाई प्रयोगात्म रुपमा कम्प्युटर कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक लोकहरी पाण्डेयले जानकारी दिनुभयो ।

समाजसेवी लेफ्टिनेण्ट कुलबहादुर बुढाथोकीको पहलमा स्वदेश तथा विदेशमा रहनुभएका विभिन्न ३२ जना मनकारी व्यक्तिहरुको सहयोगमा विद्यालयलाई एउटा ल्यापटप, प्रोजेक्टर, प्रिन्टर, सिसी क्यामेरा र १९ थान डेस्कटप कम्प्युटर उपलब्ध गराईएको छ । विद्यालयले यस अघि पुराना कम्प्युटरलाई मर्मत गरी कक्षा सञ्चालन गर्दै आईरहेको प्राधानाध्यापक पाण्डयले बताउनुभयो । उहाँले विद्याललाई विज्ञान र प्रविधिको युगमा विद्यार्थीहरु प्राविधिक शिक्षाको ज्ञान दिनुका साथै विद्यार्थीहरुसँगसगै शिक्षकहरुलाई पनि कम्युटर सिक्ने अवशर प्राप्त भएको बताउनुभयो ।

विद्यालयद्वारा कम्प्युटर शिक्षा कार्यक्रमलाई दीर्घकालीन रुपमा सञ्चालनका लागि स्वदेश तथा विदेशमा रहनुहुने भार्सेलीहरू र विद्यालयका पूर्व विद्यार्थीहरूबाट आगामी दिनमा थप सहयोगको अपेक्षा गरिएको छ । साथै कुनै पनि इच्छुक व्यक्ति वा संस्थालाई विद्यालयसँग सम्पर्क गरी उक्त अभियानमा सहभागी हुन आह्वान समेत गरिएको छ ।

विद्यालय प्रशासनका अनुसार, कम्प्युटर शिक्षा सुरु भएपछि विद्यार्थीहरूमा प्राविधिक ज्ञानको पहुँच बढ्ने र उनीहरूलाई आधुनिक डिजिटल युगसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ । अधिकाँस मगर र दलित समुदायका विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालयमा हाल एक सय पाँच जना विद्यार्थीहरु रहेका छन । २००८ सालमा स्थापना भएको जन सहयोग माध्यमिक विद्यालय जिल्लामा पुरानो विद्यालय अन्तर्गत पर्दछ ।