नपिएल ट्रफी लिएर गुल्मी आइपुगेको टोलीलाई नगरपालिकाद्वारा सम्मान

admin

२०८२ पुष १३ गते, आईतवार १६:३८ मा प्रकाशित

गुल्मी, १३ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको ट्रफी लिएर गुल्मी आइपुगेको टोलीलाइ आईतबार गुल्मीमा सम्मान गरिएको छ । रेसुङ्गा नगरपालिकाद्वारा जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गाको यज्ञशालामा ट्रफी प्रदर्शन सहित सम्मान गरिएको थियो ।

ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको एनपिएल ट्रफी प्राप्त गर्न सफल टोलीलाई रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्ली सहितका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । ट्रफी प्रदर्शन स्थलमा रेसुङ्गा माध्यमिक विद्यालयका विद्यार्थीहरुले पञ्चेवाजा सहित रेसुङ्गाको यज्ञशाला परिशर क्षेत्रमा बाजागाजा सहित विजेता टोलीलाई स्वागत गरिएको थियो ।

ट्रफी सहित गुल्मी आईपुगेको लुम्बिनी लायन्स टोलीमा गुल्मेली खेलाडी बलर तिलकराज भण्डारीको समेत उपस्थिति रहेको थियो । उक्त ट्रफी प्रदर्शन कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले आउँदो बैशाख २५ गते नगर स्थापना दिवसको अवसरमा खेलाडी भण्डारीलाई २५ हजार नगद सहित सम्मान गर्ने घोषणा गर्नुभएको थियो । कार्यक्रममा खेलाडी भण्डारीले गुल्मी जिल्लासँग जोडिएर क्रिकेट खेल्ने अवशर पाउनु आफैमा गर्वको विषय भएको बताउनु भएको थियो ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले पछिल्लो समयमा नागरिकमा खेलप्रति आकर्षण बढ्दै गएको भन्दै खेलाडीको मेहनतलाइ उर्जा भर्नका लागि खेलकुद क्षेत्रको विकासमा कुनै कन्जुस्याई गर्न नहुने धारणा व्यक्त गर्नुभएको थियो । पवित्र धार्मिक स्थल रेसुङ्गाको यज्ञशालामा ट्रफी प्रदर्शन गर्ने मौका प्रदान गरेकोमा लुम्बिनी लायन्सलाई नगरको र जिल्लावासीको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो ।

ट्रफी बोकेर गुल्मी आईपुगेको लुम्बिनी लायन्सले आईतबार रेसुङ्गाको यज्ञशाला पुगेर सदरमुकाम तम्घासहुँदै छत्रकोट र रुरुक्षेत्रमा ट्रफी प्रदर्शन गरी पाल्पा फर्किसकेको छ ।