१९ बैशाख २०८३, शनिबार
सत्यवतीका दुई विद्यालयमा न्यानो कपडा बितरण
गुल्मी, ३० पुस । गुल्मीको सत्यवती गाउँपालिका –५ र ६ का दुई सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकलाई न्यानो कपडा बितरण गरिएको छ । सत्यवती –८ भार्से घर भई हाल हङकङ निवासी स्थानीय समाजसेवी नरबहादुर बुढाथोकीकी दिदी माया थापा र उहाँकी भान्जी ममता थापाको सौजन्यमा दुई विद्यालयका ७६ जनालाई एक लाख भन्दा बढीको न्यानो कपडा बितरण गरिएको थियो ।
न्यानो कपडा बितरण गर्दै सहयोगदाता माया थापाले जन्मभूमिका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न पाउँदा आफुलाई ठूलो आत्मसन्तुष्टि मिलेको बताउनुभयो । “आफू जन्मेको ठाउँ प्रति केही योगदान गर्न पाउनु नै हाम्रो लागि गर्वको कुरा हो,” उहाँले भन्नुभयो । उक्त अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिँदै जाने उहाँले बताउनु भएको थियो ।
गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक संगिता ज्ञवालीले विद्यालयको सीमित स्रोत साधनका बीच प्राप्त सहयोगले विद्यार्थीको सिकाइमा थप प्रेरणा पुग्ने बताउनुभयो । “यस प्रकारको सहयोगले विद्यार्थीमा पढाइप्रति उत्साह बढ्छ,” उहाँले भन्नुभयो । त्यसैगरी गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक प्रकाश ढकालले पनि सहयोगी मनहरुप्रति धन्यवाद व्यक्त गर्दै समुदाय र विद्यालयबीचको सहकार्य बलियो हुँदा शैक्षिक विकासमा थप मद्दत पुगेको भन्दै दुर्गम क्षेत्रका विद्यालयमा यस्ता प्रकारका सहयोग अति आवश्यक रहेको बताउनु भएको थियो ।
भार्सेका युवा समाजसेवी नरबहादुर बुढाथोकीले विगत तीन वर्षदेखि आफ्ना दिदी र भान्जी मार्फत जन्मस्थलका विद्यालयमा सहयोग गरिरहेको जानकारी दिँदै यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । “शिक्षामा गरेको लगानी नै दीर्घकालीन विकासको आधार हो, यसले गााउँका वालवालीकालाई थोरै भए पनि सहयोग पुग्छ,” उहाँले भन्नुभयो ।
विदेशमा रहेर पनि आमाछोरीले जन्मभूमिप्रति देखाउनु भएको माया र योगदानको स्थानीयवासीले पनि खुलेर प्रशंसा गरेका छन् । यस्ता प्रकारका सहयोगले ग्रामीण विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

