गुल्मीमा ६ राजनैतिक दलहरुले उम्मेदवारी दर्ता गराए

admin

२०८२ माघ ७ गते, मंगलवार १८:५९ मा प्रकाशित

गुल्मी, ६ माघ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मीमा मुख्य ६ राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । यस जिल्लामा विशेषगरी नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा, रास्वपा, राप्रपा र राष्ट्रिय जनमोर्चा पार्टिले दुई वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा क्षेत्र नं.१ बाट उम्मेदवारी दिएका उम्मेदवारले जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र न.२ बाट उम्मेदवारी दिनुभएका उम्मेदवारले शिक्षा विकास तथा समन्वय इकाईमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उत्साहपूर्ण रुपमा सबैले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

उम्मेदवारी दर्ता गराउनेहरुमा निर्वाचन क्षेत्र नम्बर –१ मा नेपाली काँग्रेसको तर्फबाट नेता डा.चन्द्रकान्त भण्डारी, नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट केन्द्रीय सदस्य सुदर्शन बराल, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सागर ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट क्षेत्रीय अध्यक्ष अजित श्रेष्ठ र राष्ट्रिय जनमोर्चाको तर्फबाट जिल्ला अध्यक्ष शेरबहादुर थापाले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

त्यसैगरी क्षेत्र नं ‐२ मा नेपाली काँग्रेसको तर्फबाट लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष गोकर्णराज विष्ट, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट केन्द्रीय सदस्य श्रीराम महत, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गोविन्द पन्थी, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट जिल्ला सदस्य जनक सेन र राष्ट्रिय जनमोर्चाको तर्फबाट केन्द्रीय सदस्य लालबहादुर थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारी दर्ताकालागि निर्वाचन अधिकृतको कार्यालयले दलहरुलाई बेलुकी ४ वजेसम्म फरक फरक मनोनयनको समय निर्धारण गरेको थियो । उम्मेदवारी दर्तापछि उम्मेदवारहरुले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावी एजेण्डाहरुको बारेमा आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

गुल्मी जिल्लामा हाल दुई लाख २९ हजार ५४९ जना मतदाता रहेका छन् । जस अन्तर्गत निर्वाचन क्षेत्र नम्बर –१ मा एक लाख २२ हजार १८६ र निर्वाचन क्षेत्र नम्बर –२ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरेले जानकारी दिनुभएको छ ।