गुल्मीमा बरालद्वारा निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक ः विकास, सुशासन र रोजगारीसम्मका प्रतिबद्धता

admin

२०८२ फाल्गुन ३ गते, आईतवार १८:०० मा प्रकाशित

गुल्मी, ३ फागुन । गुल्मी निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदर्शन बरालले विकास, रोजगारी र सुशासनलाई केन्द्रमा राख्दै आफ्नो निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवार बन्नुभएका बरालले आईतबार जारी गरेको प्रतिबद्धता पत्रमा संमृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई मुख्य प्राथमिकतामा राख्नु भएको छ ।

निर्वाचन प्रतिबद्धता पत्रमा अधुरा तथा निर्माणाधीन पूर्वाधार समयमै सम्पन्न गर्ने, कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग जस्ता रणनीतिक सडक आयोजनालाई तीव्रता दिने तथा वर्षैभरि यातायात सञ्चालन सुनिश्चित गर्ने उल्लेख छ । वडा कार्यालयसम्म पुग्ने सडक स्तरोन्नति, झोलुङ्गे पुल तथा आवश्यक सडक पुल निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ ।

कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यवसायिक बनाउने लक्ष्यसहित स्थानीय रैथाने बाली संरक्षण, सुन्तला, कफी, किवी, ओखर लगायत नगदेबाली विस्तार तथा कृषि प्रशोधन उद्योग स्थापना गर्ने योजना अघि सारिएको छ । किसान पेन्सन, कृषि बीमा तथा हानिकारक वन्यजन्तु नियन्त्रण नीति ल्याउने प्रतिबद्धता जनाइएको छ । पशुपालन तथा जडीबुटी खेती प्रवद्र्धनमार्फत ग्रामीण रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

पर्यटनतर्फ धार्मिक–ऐतिहासिक क्षेत्रको समग्र विकास, होमस्टे प्रवद्र्धन, पदमार्ग निर्माण तथा साहसिक पर्यटन विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ । खानेपानी र विद्युत् क्षेत्रमा “एक घर–एक धारा” कार्यक्रम प्रभावकारी कार्यान्वयन, लिफ्ट खानेपानी विस्तार तथा विपन्न परिवारलाई निःशुल्क विद्युत जडान गर्ने जनाईएको छ ।

शिक्षा र स्वास्थ्यतर्फ सामुदायिक क्याम्पस सुदृढीकरण, प्राविधिक शिक्षा विस्तार, आधारभूत अस्पताल निर्माण सम्पन्न तथा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना समेटिएको छ । युवालाई स्वदेशमै रोजगारी सिर्जना, प्रत्येक पालिकामा रंगशाला निर्माण र खेलाडी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत गरिएको छ ।

बरालले सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राख्दै दलित, महिला, ज्येष्ठ नागरिक र सीमान्तकृत समुदायलाई लक्षित कार्यक्रम अघि सार्नुभएको छ । उहाँले गरेको प्रतिबद्धता पत्रमा गुल्मीको समग्र विकास र दिगो संमृद्धि हासिल गर्ने दाबी गरिएको छ ।