१ चैत्र २०८२, आईतवार
खत्रीको स्मृतिमा परिवारद्वारा प्रतिक्षालय निर्माण
गुल्मी, ११ फागुन । गुल्मीको मुसिकोट नगरपालिका –२ सुदिघाटमा स्वर्गीय कालीका खत्रीको स्मृतिमा खत्री परिवारद्वारा प्रतिक्षालय निर्माण गरिएको छ । तीन लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त प्रतिक्षालय स्वर्गीय खत्रीको वार्षिकीको अवसर पारेर स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ ।
स्वर्गीय खत्रीका श्रीमान् कृष्णबहादुर खत्री तथा उहाँका छोराहरू भेषबहादुर, हरिबहादुर, मनबहादुर, कौरब र छोरीहरू कमला, जमुना, मञ्जु र सीताको सामूहिक सहयोगमा उक्त प्रतिक्षालय निर्माण गरिएको हो । प्रतिक्षालयसँगै सोही स्थानमा खानेपानी धारा समेत जडान गरी खानेपानीको समेत व्यवस्थापन गरिएको स्वर्गीय खत्रीका छोरा कौरब खत्रीले जानकारी दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष रविन्द्र खत्रीले परिवारले स्वर्गीय आमाको स्मृतिमा गरेको कार्य समाजका लागि अनुकरणीय र प्रेरणादायी भएको बताउँदै धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । उहाँले यस्ता प्रकारका सामाजिक योगदानले समुदायमा आपसी सद्भाव र एकताको भावना बलियो बनाउने समेत बताउनुभयो ।
श्रीमतीको नाममा प्रतिक्षालय निर्माण गर्ने आफ्नो लक्ष्य पूरा भएको उल्लेख गर्दै स्वर्गीय खत्रीका श्रीमान कृष्णबहादुर खत्रीले समयमै संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले नवनिर्मित उक्त प्रतिक्षालयको संरक्षणका लागि स्थानीयहरुको ठूलो भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।
बडिगाड खोला किनारमा विशेषगरी शवदाह गर्ने उक्त क्षेत्रमा प्रतिक्षालय नहुँदा वर्षायाममा समस्या उत्पन्नहुने गरेको थियो । नयाँ प्रतिक्षालय निर्माण भएपछि त्यस क्षेत्रका स्थानीयहरुलाई अबदेखि थप सहजता पुग्ने बताईएको छ । स्थानीय समुदायको आवश्यकतालाई आत्मसात गर्दै गरिएको उक्त कार्यले सामाजिक उत्तरदायित्वको राम्रो उदाहरण प्रस्तुत गरेको स्थानीयले बेलबहादुर सारुले बताउनुभयो ।
उक्त नवनिर्मित प्रतिक्षालय हस्तान्तरण कार्यक्रममा स्थानीय वासिन्दा, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र आफन्तजनको उल्लेखनीय सहभागिता रहेको थियो ।

