राष्ट्रको स्थायित्व र समृद्धिका लागि काँग्रेस आवश्यक छ ः डा. भण्डारी

admin

२०८२ फाल्गुन १२ गते, मंगलवार १८:४५ मा प्रकाशित

गुल्मी, १२ फागुन । गुल्मी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. चन्द्र भण्डारीले राष्ट्रको स्थायित्व, लोकतन्त्रको सुदृढीकरण र दिगो विकासका लागि नेपाली काँग्रेस अपरिहार्य शक्ति भएको बताउनुभएको छ ।

पार्टीले मंगलबार रेसुङ्गा नगरपालिका भित्रका विभिन्न वडाहरुमा आयोजना गरेको चुनावी भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले संविधानको रक्षा, लोकतान्त्रिक मूल्य–मान्यता र नागरिक अधिकारको संरक्षणमा नेपाली काँग्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले अहिलेको राजनीतिक अवस्थामा जिम्मेवार र नीतिगत स्थायित्व दिने शक्ति काँग्रेस नै रहेको दावी समेत गर्नुभएको छ ।

“नयाँ सोच, स्पष्ट नीति र विकासप्रति प्रतिबद्धता भनेकै काँग्रेस हो, यसले मात्र राष्ट्रलाई सही दिशामा अघि बढाउन छ ।” उहाँले भन्नुभयो । रेसुङ्गा नगरपालिकाका वडा नं. ९ र १३ मा आयोजित अन्तरक्रिया तथा मतदातासँगको भेटघाटमा स्थानीयले बाँदरका कारण बालीनालीमा ठूलो क्षति व्यहोर्नुपरेको गुनासोदेखि सडक स्तरोन्नति, खानेपानी, सिँचाइ, स्वास्थ्य सेवा र रोजगारीका विषयहरु उठान गर्नुभएको थियो ।

उम्मेदवार भण्डारीले बाँदर समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न नीतिगत पहल गरिने भन्दै विकास निर्माणका योजनालाई प्राथमिकताका साथ अघि बढाइने र जनताको सुझावलाई आगामी कार्य योजनामा समेटिने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले विगतका राजनीतिक उपलब्धिको रक्षा गर्दै पार्टीले विकास र सुशासनलाई सँगसँगै अघि बढाइने बताउनुभयो । उहाँले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्ने गरी पार्टी प्रतिबद्ध रहेको धारणा समेत राख्नुभएको थियो । नेपाल भूतपूर्व सैनिक संघ गुल्मीले पनि मंगलबार सदरमुकाम तम्घासमा उम्मेदवारसँग चुनावी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राखेको थियो ।