२ चैत्र २०८२, सोमबार
शीर्ष नेताकै सम्पत्ति छानविन गरेर सुशासनको सुधार सुरु गर्छौँ ः शर्मा
गुल्मी, १६ फागुन । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न पार्टीका शीर्ष नेताकै सम्पत्तिबाट छानविन सुरु गर्ने बताउनुभएको छ । वर्तमान सभापति गगन थापा र पूर्व सभापति शेर बहादुर देउवाको सम्पत्ति छानविन गरेर सुधारको थालनी गरिने उहाँले स्पष्ट गर्नुभयो ।
नेपाली काँग्रेस छत्रकोटले सनिबार गुल्मी क्षेत्र नं १ को चोयगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले उक्त कुरा व्यक्त गर्नुभएको हो । “भ्रष्टाचारको आरोप लागेमा जोसुकै नेता भए पनि पार्टी सदस्यताबाट हटाएर कानुनी प्रक्रियालाई सघाउँछौँ, मुद्दा लागेपछि राजनीतिक संरक्षण होइन, कानुनलाई सहयोग गर्ने संस्कार बसाल्छौँ” शर्माले भन्नुभयो ।
उहाँले कर्मचारी प्रशासनको मनोबल खस्किएको उल्लेख गर्दै इमानदार कर्मचारीलाई काम गर्ने वातावरण बनाइने प्रतिबद्धता जनाउनुभयो । “नागरिकले सबै कागजात लिएर कार्यालय पुग्दा पनि काम नहुने अवस्थाको अन्त्य गर्छौँ,” उहाँले भन्नुभयो ।
शर्माले काँग्रेसलाई भरपर्दो र पुरानो लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै २०६४ सालको जस्तो आवेगमा विवेक गुमाउने गल्ती नदोहोर्याउन मतदातालाई आग्रह गर्नुभयो । “सिंगो टिम, विज्ञ र योग्य व्यक्तिहरूलाई समेटेर देश हाँक्ने क्षमता काँग्रेससँग छ,” उहाँले भन्नुभयो । जेनजी युवाहरुले खोजेको परिवर्तनलाई संस्थागत गर्न काँग्रेसले नेतृत्व लिनुपर्ने उहाँको तर्क थियो ।
विदेशमा रहेका नेपाली समुदायलाई पार्टीसँग जोड्नका लागि विशेष पहल गरिने तथा गैरआवासीय नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न पहल गरिने शर्माको भनाई थियो । विकास निर्माणमा ढिलासुस्ती अन्त्य गर्न तीन सिफ्टमा काम गर्ने कार्यशैली अपनाइने बताउँदै शर्माले श्रमिक, ठेकेदार र इन्जिनियरबीच समन्वय गरी समयमै आयोजना सम्पन्न गरिने दाबी गर्नुभयो । कार्यक्रममा उहाँले आगामी निर्वाचनमा सुशासन, स्थायित्व र युवाको भविष्य सुनिश्चित गर्न काँग्रेसलाई मत दिन आह्वान गर्नुभएको थियो ।
सोही कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ का काँग्रेस उम्मेदवार चन्द्रकान्त भण्डारीले जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताउनु भएको छ । उहाँले आफ्नो क्षेत्रका अधुरा विकासका योजना पूरा गर्ने र युवालाई रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

