२८ चैत्र २०८२, शनिबार
गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान समय र तालिकामा परिवर्तन
गुल्मी, ९ चैत । गुल्मीको रेसुङ्गा विमानस्थलमा हवाई उडानको समय र तालिका परिवर्तन गरिएको छ । नेपाल वायु सेवा निगमले यस अघि गुल्मीमा सनिबार सञ्चालन गर्दै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो ।
नेपाल वायु निगमले यस अघि आइतवार, मंगलवार र शनिवार गरि सातामा तीन पटक उडान गर्दै आएको थियो । उडान तालिकामा परिवर्तन गरेसँगै अबदेखि आइतवार, मंगलवार र बिहीबार गरी सातामा तीन पटकमात्र उडान गर्ने भएको रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाले जानकारी दिनुभएको छ ।
नेपाल वायुसेवा निगमले गत एक महिना अघिदेखि आइतवार, मंगलवार र शनिवार उडान गर्दै आईरहेको थियो । अबदेखि सनिबारको उडान तालिकालाई परिवर्तन गरी बिहीबारको तालिका निर्धारण गरिएको स्टेशन प्रमुख थापाले बताउनुभयो ।
नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ हाल दुई वटा मात्र ट्वीनअटर जहाज रहेका छन । वर्षादको समय र प्रतिकुल मौशमको कारण बाहेक पछिल्लो चार महिना गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित रुपमा हवाई उडानहुँदै आएको छ ।
रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाण्डौदेखि रेसुङ्गा विमानस्थल लागि आईतबार बिहान ८ः०५ बजे र रेसुङ्गाबाट बिहान ९ः०५ वजे र मंगलबार र बिहीबार काठमाण्डौदेखि बिहान ६ः १५ बजे र रेसुङ्गा विमानस्थलबाट काठमाण्डौका लागि बिहान ७ः१५ बजे उडान गर्नेगरी समय तथा तालिकामा परिवर्तन गरेको छ ।
निगमले काठमाडौंबाट गुल्मीका लागि ७ हजार पाँच सय रुपैंया र गुल्मीबाट काठमाडौंका लागि ७ हजार तीन सय रुपैयाँ भाडादर निर्धारण गरेको छ । रेसुङ्गा विमानस्थलमा दिउसोको समयमा अत्याधिक हावाको चाँपहुने भएको कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान हँुदै आएको छ ।
गुल्मीमा हवाई उडान शुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं वाह्य पर्यटकहरुको संख्यामा समेत बृद्धिहुँदै गएको छ । १६ देखि १८ घण्टासम्मको लामो यात्रा गरेर राजधानी पुग्नुपर्ने वाध्यता रहेको यस क्षेत्रका नागरिकहरुले आकास मार्गबाट ४५ देखि ५० मिनेटमै सहज रुपमा गुल्मीबाट राजधानी आवतजावत गर्न सहज बनेको छ ।
जिल्लामा हवाई सेवा लिने नागरिकहरुको चाँप पछिल्लो समयमा बढ्दै गएको छ । तर यात्रुहरुको चाँप बढेपनि उडान सख्या थोरै हुने र प्रतिकुल मौसमका कारण बेलाबेलामा उडान रद्द हुने भएका कारण यात्रुहरुले सास्ती खेप्नु परेको गुनासो गर्दै आईरहेका छन । गुल्मीमा नेपाल वायुसेवा निगमले २०८० बैशाख २९ गतेदेखि व्यावसायिक रुपमा हवाई सेवा शुरु गरेको थियो ।

