रामवाण गुल्मको २३ औं वार्षिकोत्सव सम्पन्न

admin

२०८२ चैत्र २५ गते, बुधबार १८:०२ मा प्रकाशित

गुल्मी, २५ चैत । गुल्मीमा रहेको नेपाली सेनाको श्री रामवाण गुल्मले आफ्नो २३ औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ । श्री नं. २२ बाहिनी अड्डा बुटवलका बाहिनीपति सहायक रथी बिमलराज शर्माले वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै गर्नुभएको थियो ।

वार्षिकोत्सव समारोहमा सहायक रथी शर्माले यस्ता कार्यक्रमले नेपाली सेना, नागरिक समाज र प्रशासनबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका गर्नुभएको थियो । उहाँले सकल दर्जालाई उच्च मनोबलका साथ अनुशासनमा रही पेशागत दक्षता र नेतृत्व अभिवृद्धिमा लाग्न निर्देशन समेत दिनुभएको थियो ।

श्र्माले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र मर्यादित रुपमा सम्पन्न गर्न गुल्मले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै विपद् व्यवस्थापनका क्षेत्रमा पनि समन्वयात्मक र प्रभावकारी रूपमा परिचालन हुन सुझाव दिनुभएको थियो ।

कार्यक्रममा वर्षकै उत्कृष्ट जवान र खेलकुदतर्फका विजेताहरूलाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो । श्री रामवाण गुल्ममा यस वर्ष सौगात सुनार उत्कृष्ट जवानका रूपमा चयन भएका थिए । खेलकुदका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने दुई जना पुरस्कृत भएका छन् ।

रामवाण गुल्ममा गुल्मपति सुवाष थापा अनुसार सैनिकहरूको क्षमता, अनुशासन र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताईएको छ । कार्यक्रममा जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेल, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, विभिन्न सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रतिनिधि तथा सैनिक अधिकृतहरूको सहभागिता रहेको थियो ।

वार्षिकोत्सवमा गुल्मपति सुवाष थापाले धन्यवाद ज्ञापन गर्दै गुल्मले आफ्नो जिम्मेवारी इमानदारी र बफादारीका साथ निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँले तालुक अड्डाको निर्देशन अक्षरसः पालना गर्दै गुल्मलाई थप सक्षम र अनुकरणीय बनाउने बताउनु भएको थियो ।

कार्यक्रमको अवसरमा राष्ट्रिय सेवा दल (एनसीसी) मा आवद्ध विद्यार्थी तथा नेपाली सेनाका जवानहरूले विविध साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।