गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र प्रभावित

admin

२०८२ चैत्र २७ गते, शुक्रबार ०६:५४ मा प्रकाशित

गुल्मी, २६ चैत । निर्माण व्यवसायी सघं गुल्मीले जिल्ला भित्रका खोलानालाबाट गिटी–बालुवा उत्खननमा लगाइएको प्रतिबन्धका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको जनाएको छ ।

संघले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्थानीय तहहरूले वैधानिक रूपमा रोयल्टी असुल गरी उत्खननका लागि ठेक्का प्रक्रिया सम्पन्न गरिसकेको अवस्थामा स्थानीय प्रशासनले डोजर लगायत उपकरण प्रयोगमा रोक लगाउनु विरोधाभासपूर्ण र अव्यवहारिक निर्णय भएको उल्लेख गरेको बताएको छ । उक्त प्रक्रियामा व्यवसायीहरूले लाखौं रुपैयाँ लगानी गरिसकेको संघको भनाइ छ ।

उत्खननमा रोक लगाएपछि निर्माण सामग्रीको आपूर्ति प्रणाली अवरुद्ध भएको र विकास निर्माणका कार्यहरू ठप्प हुने अवस्थामा पुगेको निर्माण व्यवसायी सघं गुल्मीका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताएक छन । खोलानालाबाट गिटी–बालुवा निकालेर क्रसर उद्योग मार्फत प्रशोधन गरेपछि मात्रै निर्माण कार्य सम्भव हुने हुँदा उपकरण प्रयोगमै प्रतिबन्ध लगाइनु निर्माण क्षेत्रमाथि प्रत्यक्ष असर परेको श्रेष्ठले बताएका छन् ।

संघले वैधानिक रूपमा ठेक्का लिएका व्यवसायीहरूलाई तत्काल उत्खनन गर्न अनुमति दिन, डोजर तथा आवश्यक उपकरण प्रयोगमा लगाइएको प्रतिबन्ध हटाउन, स्थानीय तह र प्रशासनबीच समन्वय गरी व्यवहारिक नीति लागू गर्न तथा व्यवसायीहरूले भोगिरहेको आर्थिक क्षति न्यूनीकरणका लागि राहत व्यवस्था गर्न समेत माग गरेको छ ।

संघले समस्या समाधानमा ढिलाइ भए निर्माण कार्य पूर्ण रूपमा ठप्प हुने, विकास निर्माणका काम अवरुद्ध हुने र व्यवसायीहरू गम्भीर आर्थिक संकटमा पर्ने चेतावनी दिएको छ । साथै यस्तो अवस्थाको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसको विरोधमा संघले बिहीबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।