गुल्मीमा वैशाख ११ देखि २३ गतेसम्म पाँचौँ गुल्मी महोत्सव हुने

admin

२०८२ चैत्र २७ गते, शुक्रबार ०६:५५ मा प्रकाशित

गुल्मी, २६ चैत । गुल्मी उद्योग वाणिज्य संघले आगामी वैशाख ११ देखि २३ गतेसम्म पाँचौँ गुल्मी महोत्सव आयोजना गर्ने भएको छ । सदरमुकाम तम्घासमा बिहीबार आयोजित पत्रकार सम्मेलन मार्फत महोत्सवको बारमो जानकारी दिँदै संघका अध्यक्ष मृगेन्द्र प्रसाद श्रेष्ठले जिल्लाको आर्थिक, सामाजिक, पर्यटन तथा साँस्कृतिक विकासलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।

उहाँका अनुसार महोत्सव मार्फत स्थानीय उत्पादन, कृषि उपज तथा घरेलु उद्योगको प्रवद्र्धन र बजारीकरण गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गर्ने तथा स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रचार गर्ने लक्ष्य राखिएको छ । युवामा उद्यमशीलता विकास गर्ने वातावरण सिर्जना गर्नु पनि महोत्सवको उद्देश्य रहेको जनाइएको छ ।

महोत्सवमा विभिन्न जिल्लाबाट आउने व्यापारिक तथा औद्योगिक स्टल, स्थानीय कृषि उत्पादन, हस्तकला तथा घरेलु उद्योगका सामग्री, होटल तथा पर्यटन प्रवद्र्धन सम्बन्धी प्रदर्शनी, स्थानीय खानाका परिकारको विशेष प्रदर्शनी राखिने भएको । त्यसैगरी राष्ट्रिय तथा स्थानीय कलाकारको साँगीतिक प्रस्तुति, सांस्कृतिक झाँकी तथा लोक कार्यक्रम, बालबालिका तथा परिवार लक्षित मनोरञ्जनात्मक कार्यक्रम समेत सञ्चालन गरिने संघले जनाएको छ ।

महोत्सव अवधिमा करिब एक लाख दर्शकले अवलोकन गर्ने र करिब रु पाँच करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवबाट हुने बचत रकमको ४० प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने पनि उहाँले बताउनुभयो ।

महोत्सवलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षा, सरसफाइ र ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जनाइएको छ । महोत्सव आयोजनाका लागि ३३ वटा विभिन्न उपसमिति गठन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।