गुल्मीमा आजदेखि पाँचौँ गुल्मी महोत्सव शुरु

admin

२०८३ बैशाख ११ गते, शुक्रबार २१:३७ मा प्रकाशित

 

जनार्दन घिमिरे

गुल्मी, ११ वैशाख । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि गुल्मीको सदरमुकाम तम्घासमा पाँचौँ गुल्मी महोत्सव शुरु भएको छ । जिल्लाको आर्थिक, सामाजिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास एवं प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले बताउनु भएको छ ।

महोत्सवको उद्घाटन गर्दै रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले स्थानीय कला, संस्कृति र उत्पादनको प्रवर्दनका लागि यस्ता प्रकारका महोत्सवहरु महत्वपूर्ण हुने बताउनुभयो । महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धन, स्थानीय व्यावसायको विस्तार तथा आर्थिक गतिबिधि बढाउन थप टेवा पुग्ने उहाँको भनाई छ । गुल्मी आफैमा पनि एउटा संभावनै संभावना भएको जिल्ला भएको भन्दै नगर प्रमुख पन्थीले नगरले नीजि क्षेत्रहरुसँग सधै सहकार्य गर्दै अघि बढीरहेको उल्लेख गर्नुभयो ।

“गुल्मी जिल्लाको सम्पन्नता र संमृद्धिको निकास, शिक्षा स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास” भन्ने मुल नारा सहित शुरु भएको पाँचौ गुल्मी महोत्सव वैशाख ११ देखि २३ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सवको मध्यमबाट स्थानीय उत्पादन, कृषि उपज तथा घरेलु उद्योगको प्रवद्र्धन र बजारीकरण, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, साना तथा मझौला उद्यमीलाई प्रोत्साहन एवं स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने बताईएको छ ।

महोत्सवमा स्थानीयहरुसँगै जिल्ला बाहिरबाट आएका व्यावासायिहरुले व्यापारिक तथा औद्योगिक स्टल, स्थानीय उत्पादित कृषि उपजहरु, हस्तकलाबाट निर्मित सामग्री, जिल्लाका महत्वपूर्ण स्थानका तस्बिरहरुको प्रदर्शनी, परम्पारगत काठका सामग्रि, रैथाने खानाका परिकार लगायतका दुई सय भन्दा बढी स्टरहरु रहेको संघका उपाध्यक्ष ताराप्रसाद भुसालले जानकारी दिनुभएको छ ।

मेला अवधिभर एक लाख दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने र त्यसबाट करिब पाँच करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको संस्थाका कोषाध्यक्ष इस्वरी कडेलले बताउनुभयो । महोत्सवबाट संकलन भएर बचत रहेको रकमको ४० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गरिने पनि कँडेलले जानकारी गराउनु भएको छ ।

महोत्सवलाई थप व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि विभिन्न क्षेत्रलाई समेटेर ३३ वटा उपसमिति गठन गरि काम भैरहेको जनाईएको छ ।