१४ बैशाख २०८३, सोमबार
गुल्मीको मुसिकोटमा गुरु सम्मान कार्यक्रम
जनार्दन घिमिरे
गुल्मी १३ वैशाख । “गुरु बिना ज्ञान सम्भव छैन, ज्ञान बिना उज्यालो सम्भव छैन” भन्ने सन्देशका साथ गुल्मीको मुसिकोट नगरपालिकामा गुरु सम्मान कार्यक्रम सम्पन्न भएको छ। समाजमा घट्दै गइरहेको गुरु तथा अग्रजप्रतिको सम्मान भावलाई पुनर्जागृत गर्ने उद्देश्यले महेन्द्र आदर्श माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा पूर्व शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।
पूर्व विद्यार्थी बैकुण्ठ रायमाझीको प्रमुख नेतृत्वमा आयोजनामा पहिलो पटक गरिएको उक्त कार्यक्रममा आफूलाई घरबाट क-ख सिकाउने पितादेखि कक्षा १० सम्म पढाउने शिक्षकहरूलाई सम्मान गरिएको थियो। पछिल्लो समयमा आफुलाइ शिक्षादिने गुरूहरू प्रति खस्कँदै गएको सम्मानको परम्परालाई पुनः झक्झकाउने प्रयास स्वरूप उक्त कार्यक्रम गरिएको आयोजक बैकुण्ठ रायमाझीले बताउनुभयो । कार्यक्रममा गुरु–शिष्यबीचको सम्बन्ध अझ आत्मीय हुनुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रमका त्रिभुवन विश्वविद्यालय, अङ्ग्रेजी केन्द्रीय विभागका प्रमुख प्राज्ञ डा. जीवलाल सापकोटाले गुरुको भूमिका समाज निर्माणको आधार भएको उल्लेख गर्दै ज्ञानको उज्यालो फैलाउन गुरुहरूको योगदान अमूल्य रहेको बताउनुभयो । उहॅाले परम्परागत गुरु सम्मान संस्कृतिलाई निरन्तरता दिन यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटाले गुरुहरू समाजका मार्गदर्शक भएको बताउँदै उनीहरूप्रतिको सम्मानले नै सभ्य समाज निर्माण हुने उल्लेख गर्नुभयो । उहॅाले नयाँ पुस्तालाई संस्कारमा आधारित नैतिक शिक्षासँग जोड्न आग्रह गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गुरु सम्मानकै लागि तयार पारिएको गीतको म्युजिक भिडियो कार्यक्रमस्थलबाटै प्रत्यक्ष छायांकन गरिएको थियो। सोही कार्यक्रममा रेकर्ड डान्स प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
गुरुको सम्मान र परम्पराको संरक्षण गर्ने उद्देश्यले गरिएको कार्यक्रमले स्थानी स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको महेन्द्र आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष शाक्यले बताउनु भएको छ।
कार्यक्रममा वामी–विश्व सम्पर्क मञ्चकी उपाध्यक्ष शारदा शर्मा पौडेल लगायत विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा संघ संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

