बैकुण्ठ रायमाझीको नयाँ भजन सार्वजनिक

admin

२०८३ असार ६ गते, शनिबार २०:४६ मा प्रकाशित

गुल्मी, ६ असार । मानव जीवनको यथार्थ, आध्यात्मिक चेतना र ईश्वरप्रतिको समर्पणलाई समेटिएको नयाँ भक्ति सङ्गीत ‘कोही छैन संसारमा’ सार्वजनिक भएको छ।

लोकप्रिय गायक तथा सर्जक बैकुण्ठ रायमाझीको स्वर तथा सङ्गीत संयोजन तथा रमेशराज भट्टराईको शब्द सिर्जनामा तयार गरिएको उक्त भजन ‘सेरोफेरो नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

पछिल्लो समय भक्ति तथा मौलिक सङ्गीतप्रति दर्शक–स्रोताको आकर्षण बढिरहेका बेला सार्वजनिक गरिएको यस गीतले मानवीय जीवनको नश्वरता र ईश्वरप्रतिको भरोसालाई भावपूर्ण ढङ्गले प्रस्तुत गरेको छ।

गीतमा प्रतिमा बिके र ज्ञानु परियारको कोरस गायन रहेको छ भने विश्वास नेपालले सङ्गीत एरेन्ज गरेका छन्। रमेश खड्काले ध्वनि मुद्रण तथा विनोद परियारले मिक्सिङ गरेका छन्।

म्युजिक भिडियोमा आयुष्मा कार्की, कैलाश कठायत र सारिका केसीको अभिनय रहेको छ। सर्जक रायमाझी स्वयं पनि भिडियोमा देखिएका छन्। भिडियोको निर्देशन तथा कोरियोग्राफी शेर साउदले गरेका हुन्।

गुल्मीको वामीमा जन्मिएका रायमाझी हाल चेक गणतन्त्रलाई कर्मथलो बनाएर नेपाली कला, साहित्य र सङ्गीतको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय रहँदै आएका छन्। उनले यसअघि ‘दुनियाँ जहर छ’, ‘दुधको भारा’, ‘क्षितिज’, ‘फेसबुककी नानी’ र ‘गुल्मेली सोरठी’ लगायतका गीतमार्फत दर्शक–स्रोताको मन जितिसकेका छन्।

विशेषगरी पञ्चेबाजा र नौमती बाजाको संरक्षणमा सक्रिय रायमाझीको पहलमा गुल्मीको वामीमा नौमती बाजा महोत्सवसमेत आयोजना गरिएको थियो। युरोपमा नेपाली मौलिक बाजागाजा संरक्षणका लागि उनले गठन गरेको समूहले प्रवासी नेपाली समुदायमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ।