बरालको नयाँ पञ्चेबाजा गीत ‘जोडी मिलाको’ बजारमा

admin

२०८२ माघ १३ गते, सोमबार ०९:२८ मा प्रकाशित

गुल्मी, ११ माघ । गुल्मीको मुसिकोट नगरपालिका–८ स्थीत वामी मैदान निवासी चर्चित लोक गायक कमल बरालको नयाँ पञ्चेबाजा गीत ‘जोडी मिलाको’ यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा छ । टिकटक, फेसबुक र युट्युबमा तीव्र गतिमा भाइरल भइरहेको यस गीतले छोटो समयमै दर्शक–श्रोताको मन जित्न सफल भएको छ ।

गुल्मी र पाल्पा जिल्लाको सामाजिक परिवेश, गाउँको जनजीवन र प्रेम कथालाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको गीतमा अमेरिका निवासी पूजन बोहरा र गायक कमल बरालको सुमधुर स्वर रहेको छ । माया–पिरतीको रमाइलो कथावस्तु बोकेको गीतको शब्द तथा संगीत गणेश अधिकारीको रहेको छ भने संगीत संयोजन महेन्द्र भण्डारीले गरेका हुन् ।

गीतका निर्माता किशोर कार्की रहेका छन भने भिडियो निर्देशन तथा अभिनय विनोद भण्डारीले गरेका छन ्। भिडियोमा जुना विश्वकर्माको यथार्थ अभिनय देख्न सकिन्छ । भिडियोको विशेष आकर्षण भनेको‐मुसिकोट नगरपालिकाको केन्द्र वामी वरपरका मनमोहक दृश्य, स्थानीय संस्कृति, जनजीवन र प्राकृतिक सौन्दर्यलाई अत्यन्त जीवन्त रूपमा प्रस्तुत गरिएको देख्न सकिन्छ । छायांकनका क्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिताका कारण गीतको भिडियो झनै उत्कृष्ट बनेको छ ।

गायक कमल बरालले मुसिकोट नगरपालिका अन्तर्गत रहेको वामी क्षेत्र प्राकृतिक रूपमा अत्यन्त सुन्दर ठाउँ भएका कारण गीत मार्फत यसको थप प्रचार–प्रसार गर्दै स्थानीय पर्यटन प्रवद्र्धनमा योगदान पुराउने उद्देश्यले रहेको बताए । उनका अनुसार यसअघि पनि बरालले आफ्नो चर्चित सोरठी गीतको भिडियो वामीमै छायांकन गरिएको थियो ।

सांगीतिक क्षेत्रमा कमल बराल चिरपरिचित नाम हो । यसअघि उनले सोरठी गीतहरू ‘मर्न नपरोस्’, ‘हाँसन खेलन आयौँ राजै’ तथा लोकगीत ‘ऐँसेलुको पातमा’ जस्ता लोकप्रिय सिर्जनामा स्वर दिइसकेका छन् । यही अनुभव र पहिचानका कारण ‘जोडी मिलाको’ पनि श्रोता माझ अत्यन्त छिटो लोकप्रिय बन्दै गएको बताईएको छ ।

गीतको अडियो, भिडियो, कथा र प्रस्तुतिकरण सबै पक्ष सन्तुलित, मौलिक र आकर्षक छन् । त्यसैले ‘जोडी मिलाको’ केवल मनोरञ्जनको लागि मात्र नभई स्थानीय कला, संस्कृति र पर्यटन प्रवद्र्धनको सशक्त गीत बन्न पुगेको छ ।