२७ श्रावण २०८३, बुधबार
जय जय कोटेश्वर समूहको ‘भाग–५ : मर्ने चोला’ भजन सार्वजनिक
गुल्मी, २८ साउन । धार्मिक, सांस्कृतिक तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनमा सक्रिय जय जय कोटेश्वर समूहले आफ्नो बहुप्रतीक्षित भजन ‘जय जय कोटेश्वर–भाग ५ : मर्ने चोला’ सार्वजनिक गरेको छ।
योगिराज धिराज ब्रह्मलीन गुरु १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजको पवित्र स्मृतिमा सिर्जना गरिएको उक्त भजनमा जीवनको क्षणभङ्गुरता, आध्यात्मिक चेतना, धर्म तथा संस्कृतिका भाव समेटिएका छन्।
गुल्मीको मौन पुष्करणी स्नान महोत्सव, शृङ्गामा विशेष रूपमा छायाङ्कन गरिएको भजनमा धर्म, कला, संस्कृति र संगीतको संयोजन गरिएको छ। समूहले हरेक वर्ष एउटा नयाँ भजन एल्बम सार्वजनिक गर्दै आएकोमा यसलाई सोही अभियानको पाँचौँ संस्करणका रूपमा सार्वजनिक गरेको हो।
भजनको भाका किरण खरेलको रहेको छ भने भजनकार हेमनाथ खरालले शब्द सिर्जना गर्नुभएको हो। वृद्धदेखि बालबालिकासम्मलाई आकर्षित गर्ने रोइला प्रकृतिको मेलोडीमा तयार पारिएको भजनमा संगीत संयोजक तथा गायक महेन्द्र भण्डारी र गायिका कमला पोखरेलले स्वर दिनुभएको छ।
भिडियोमा कलाकार ध्रुव पौडेल र बिपना पन्तको अभिनय रहेको छ भने नृत्य निर्देशन समीक्षा भट्टराईले गर्नुभएको छ। धार्मिक आस्था, मौलिक संस्कृति, कला, संगीत, अभिनय र आध्यात्मिक भावनालाई एउटै प्रस्तुतिमा समेटिएको निर्माण पक्षले जनाएको छ।
समूहले भजनले नेपाली मौलिक संस्कृति, धार्मिक आस्था तथा धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। साथै समूहले भजन हेरेर, सुनेर तथा शेयर गरी सहयोग गर्न दर्शक–श्रोतासँग आग्रह गरेको छ।


