रसुवा बाढीमा गुल्मीका सात जना अझै सम्पर्क विहीन

admin

२०८३ भाद्र ११ गते, बिहीबार १८:३४ मा प्रकाशित

गुल्मी, ११ भदौ । रसुवामा आएको विनाशकारी बाढीका कारण गुल्मीका सात जना व्यक्ति अझै सम्पर्क विहीन हुनुभएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले आज सार्वजनिक गरेको विवरण अनुसार सम्पर्क विहीन हुनेमा जलविद्युत आयोजना, भन्सार कार्यालय तथा तीर्थयात्राको क्रममा रसुवा पुगेका व्यक्तिहरु समेत बाढीपछि अझै सम्पर्कमा आउन सक्नुभएको छैन ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्वारा जारी विवरण अनुसार रुरुक्षेत्र गाउँपालिका –५ निवासी २६ वर्षीय अनिता पुरी र मालिका गाउँपालिका–७ का ४५ वर्षीय दिनेश घिमिरे रसुवा भन्सार कार्यालयमा कार्यरत रहेकै अवस्थामा बाढीमा परी सम्पर्क विहीन भएको छ ।

यसैगरी रुरुक्षेत्र गाउँपालिका –६ का ३९ वर्षीय यम बहादुर दर्लामी, छत्रकोट गाउँपालिका–४ का ३४ वर्षीय गणेश ज्ञवाली, सत्यवती गाउँपालिका –८ का ५० वर्षीय धनबहादुर गलामी र रुरुक्षेत्र गाउँपालिका –३ का ५० वर्षीय कपिलमणि ज्ञवाली पनि हालसम्म सम्पर्क विहिन रहेको बताईएको छ । उहाँहरु चारजना मध्य तीन जना जलविद्युत आयोजनामा प्राविधिक र एकजना सुरक्षा गार्डमा कार्यरत रहेको जनाईएको छ ।

यसैगरी मानसरोवरको तीर्थयात्राको सिलसिलामा चीनको सीमा क्षेत्र पुग्नु भएका कालिगण्डकी गाउँपालिका–१ हर्मीचौरका ३७ वर्षीय शिव न्यौपाने पनि बाढीपछि हालसम्म सम्पर्कमा विहीन रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

बाढीमा परी बेपत्ता भएका नागरिकहरूको खोजी तथा उद्धारका लागि रसुवा स्थित स्थानीय प्रशासन, सुरक्षा निकाय र आफन्तहरूसँग निरन्तर समन्वय भइरहेको तथा खोजी कार्यलाई तीव्रता दिइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो ।