३० जेष्ठ २०८३, शनिबार
बाख्रा प्रवद्र्धन कार्यक्रम मार्फत कृषकको आम्दानी बढाउन सहयोग
बाख्रा प्रवद्र्धन कार्यक्रम मार्फत कृषकको आम्दानी बढाउन सहयोग
जनार्दन घिमिरे
गुल्मी, ३० जेठ । सरकारी अनुदानमा सञ्चालित बाख्रा प्रवद्र्धन कार्यक्रमले गुल्मीका कृषकलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्नुका साथै उत्पादन र आम्दानी वृद्धि गर्न सहयोग पुगेको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा बालीवस्तु विशेष बाख्रा प्रवद्र्धन कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिका–३ स्थित साना किसान कृषि सहकारी संस्था मार्फत लाभान्वित कृषकका फर्महरूको शनिबार संयुक्त अनुगमन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको संयोजकत्वमा भएको अनुगमनमा कार्यक्रमबाट कृषकले पूर्वाधार, प्रविधि तथा प्राविधिक सेवा प्राप्त गरी बाख्रापालन व्यवसायलाई थप व्यवस्थित र उत्पादनमुखी बनाउँदै लगेको पाइएको छ । कार्यालय मार्फतसहकारीमा आबद्ध १४ जना कृषकका बाख्राको खोर निर्माण तथा सुधार गरिएको छ । प्रजनन सुधारका लागि चार वटा उन्नत जातका ब्याडबोका खरिद गरिएको छ भने कृषकहरुलाई कम्बाइन मिल र च्यापकटर समेत वितरण गरिएको छ ।
यस्तै बाह्य तथा आन्तरिक परजीवी नियन्त्रण, बाख्रापालन सम्बन्धी तालिम, घाँसको बीउ तथा बिरुवा खरिद र वितरण लगायतका कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्राविधिक सहायक रिमबहादुर रोकायले जानकारी दिनुभयो । कार्यक्रमको कुल लागत १५ लाख २९ हजार रुपैयाँ रहेको छ । यसमध्ये कार्यालयबाट आठ लाख अनुदान उपलब्ध गराएको छ भने अन्य सात लाख २९ हजार रुपैयाँ कृषक तथा सहकारीको साझेदारी रहेको छ ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सरकारी लगानीबाट सञ्चालन हुने कार्यक्रम परिणाममुखी हुनुपर्ने बताउनुभयो । उहाँले वास्तविक कृषकसम्म सेवा पुगेर उत्पादन र आम्दानी वृद्धि हुन सके मात्र कार्यक्रमको उद्देश्य पूरा हुने बताउनु भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले बाख्रापालनलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक पूर्वाधार, प्रविधि र प्राविधिक सेवासँग कृषकलाई जोड्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्त्यालले कार्यक्रमबाट सदस्य कृषकको उत्पादन क्षमता वृद्धि र व्यवसाय विस्तारमा सकारात्मक प्रभाव परेको बताउनुभयो । अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैह्रे, प्रमुख कोष नियन्त्रक महेन्द्रप्रसाद भण्डारी, कृषि ज्ञान केन्द्रका प्रतिनिधि नवराज घिमिरे, वडाध्यक्ष शंकर रायमाझी लगायतको सहभागिता रहेको थियो ।

