छत्रकोटका ४ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण सुरु

admin

२०८३ जेष्ठ १८ गते, सोमबार १७:२९ मा प्रकाशित

छत्रकोटका ४ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण सुरु

गुल्मी, जेठ १८ – छत्रकोट गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मुटु परीक्षण कार्यक्रम आजबाट सुरु गरिएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठान, गुल्मीको संयोजन तथा छात्रकोट गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका ४० विद्यालयका ४ हजार १९६ विद्यार्थीको मुटु परीक्षण गरिने भएको छ।

कार्यक्रमको सुरुवात छात्रकोट गाउँपालिका–स्थित सरस्वती माध्यमिक विद्यालयबाट गरिएको हो। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुमनता बन्जाडे र डा. प्रदीप पाण्डेको नेतृत्वमा विद्यार्थीहरूको मुटु परीक्षण भइरहेको छ। आवश्यक परेका विद्यार्थीहरूको इकोकार्डियोग्राफी (Echo Cardiography) मार्फत समेत परीक्षण गरी रोग पहिचान गर्ने व्यवस्था मिलाइएको छ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान, गुल्मीका अध्यक्ष ताराप्रसाद भुसालका अनुसार परीक्षणका क्रममा मुटुरोग भएका विद्यार्थी भेटिएमा उनीहरूको आवश्यक उपचार व्यवस्थापनमा प्रतिष्ठानले सहजीकरण गर्नेछ।

छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गाउँपालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गरेको बताउनुभयो। उहाँले मुटुरोगको समयमै पहिचान र उपचारका लागि यस्तो अभियान प्रभावकारी र उपलब्धिमूलक भएको उल्लेख गर्नुभयो।

गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय सदस्य अखिलेश्वरप्रसाद पाण्डे, प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे, प्रतिष्ठान गुल्मीका अध्यक्ष ताराप्रसाद भुसाल, स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेललगायतको सहभागिता रहेको थियो।

यसअघि करिब दुई साताअघि गुल्मीदरबार गाउँपालिकामा पनि यस्तै कार्यक्रम सञ्चालन गरिएको थियो। त्यहाँ ३ हजार ९५० विद्यार्थीको मुटु परीक्षण गर्दा १० जना विद्यार्थीमा मुटुसम्बन्धी समस्या पहिचान भएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडेले जानकारी दिनुभयो। तीमध्ये ८ जनाले औषधि उपचार सुरु गरेका छन् भने २ जनालाई थप उपचारका लागि काठमाडौं पठाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय सदस्य अखिलेश्वरप्रसाद पाण्डेले बालबालिकामा मुटुरोगको प्रारम्भिक चरणमै पहिचान हुन सके उपचार सहज हुने र नेपाल सरकारबाट समेत उपचारको व्यवस्था हुने भएकाले यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताउनुभयो। उहाँले विद्यालयस्तरमै स्वास्थ्य परीक्षण अभियान विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।