२७ बैशाख २०८३, आईतवार
शान्तिपुरबाट काठमाडौँसम्म EV सेवा : स्थानीय लगानीमा यात्रुमैत्री पहल
गुल्मी २६ वैशाख । गुल्मीको चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुर क्षेत्रका युवा व्यवसायीहरूको संयुक्त लगानीमा वातावरणमैत्री विद्युतीय सवारी (EV) सेवा सञ्चालनमा आएको छ । गुल्मी यातायात प्रालिमार्फत उक्त सेवा सञ्चालन गरिएको हो ।
स्थानीयस्तरमै आधुनिक र यात्रुमैत्री यातायात सेवा सुरु भएपछि यस क्षेत्रका नागरिकलाई काठमाडौँ र पोखरासम्मको यात्रा थप सहज हुने अपेक्षा गरिएको छ । शान्तिपुर बसपार्कबाट काठमाडौँका लागि दैनिक बिहान ७ बजे मिनी माइक्रोबस छुट्ने गरी सेवा शुरू गरिएको हो । यही समयमा काठमाडौँ बसपार्कबाट पनि शान्तिपुरका लागि गाडी छुट्ने व्यवस्था मिलाइएको छ ।
सेवा सञ्चालनमा आएको रुट शान्तिपुर–रुद्रवेणी–कालीगण्डकी करिडोर हुँदै अर्बेनी, पुर्तिघाट, जैमिनी, मालढुंगा, कुश्मा, पोखरा भएर काठमाडौं पुग्ने तय गरिएको छ । करिब ३५० किलोमिटर दूरीको यात्रा करिब १० घण्टामा पूरा गर्न सकिने सञ्चालक तथा उद्योग वाणिज्य संघ शान्तिपुरका अध्यक्ष तेजेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल तीनवटा १६ सिटर क्षमताका विद्युतीय सवारी सञ्चालनमा ल्याइएको छ । करिब दुई करोड २५ लाख रुपैयाँको लागतमा १५ जना व्यवसायीको संयुक्त लगानीमा सेवा सुरू गरिएको हो । सेवा शुभारम्भ कार्यक्रममा बोल्दै चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले वातावरणमैत्री र सर्वसुलभ यातायात सेवाले स्थानीयवासीलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । वैकल्पिक ऊर्जाको प्रयोगले इन्धन आयातमा निर्भरता घटाउँदै राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने उहाँको भनाइ थियो ।
शान्तिपुर बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका सञ्चालक तेजबहादुर थापाले स्थानीय स्तरबाट आधुनिक यातायात सेवा विस्तार गर्नु गौरवको विषय भएको बताउनुभयो । “ग्रामीण क्षेत्रबाट राजधानीसम्म सिधा, सुरक्षित र सुविधायुक्त यात्रा गर्ने नागरिकको चाहनालाई मध्यनजर गर्दै EV सेवा सुरु गरेका हौँ,” उहाँले भन्नुभयो ।
ग्रामीण क्षेत्रमा विद्युतीय सवारीको विस्तारसँगै शान्तिपुर क्षेत्र अब आधुनिक यातायात पहुँचतर्फ अघि बढेको बताइएको छ। व्यवसायीहरूको यो पहलले त्यस क्षेत्रका नागरिकहरूलाइ थप सुबिधा पुग्ने भएको छ ।

