२९ बैशाख २०८३, मंगलवार
गुल्मीको मुसिकोटमा १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित सञ्चालन
गुल्मी, २९ वैशाख । जिल्ला खेलकुद विकास समिति गुल्मीको आयोजना तथा मुसिकोट नगरपालिकाको व्यवस्थापनमा १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मुसिकोट नगरपालिका–६ भुवाचिदीस्थित ग्वादीकाचौर खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा जिल्लाका १२ वटै स्थानीय तहका विद्यालयहरुको सहभागिता रहेको छ ।
सदरमुकाम तम्घास बाहिर दोश्रो पटक सञ्चालन गरिएको उक्त प्रतियोगिता ग्रामिण क्षेत्रको लागि राम्रो अवसर भएकाले यसले खेल क्षेत्रको गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा रनिङ शिल्ड अन्तर्गत मुख्य गरी भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आट्र्स लगायतका विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य महेश काउछाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घघाटन कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख जीवलाल खरेल ‘जीवन’ ले खेलकुदको माध्यमबाट विद्यार्थीहरूलाई अनुशासित बनाउन सकिने बताउनुभयो ।
उहाँले सदरमुकाम बाहिर जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन हुनु आफैमा खुसीको कुरा भएको भन्दै यसले स्थानीय स्तरमा रहेका लुकेका प्रतिभाहरूलाई राष्ट्रिय स्तरसम्म पुग्न ठूलो अवशर मिल्ने बताउनुभयो । नगर प्रमुख खरेलले राष्ट्रपति रनिङ शिल्डले विद्यालय तहबाट प्रतिभावान खेलाडी उत्पादन गर्न महत्वपूर्ण सहयोग पु¥याउने बताउनु भएको छ ।
प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य महेश काउछाले यस प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूलाई प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराउन दाङ लैजाने बताउनु भएको छ । जिल्ला खेलकुद विकास समिति गुल्मीका अनुसार प्रतियोगिताले विद्यालय तहमा खेल संस्कृतिको विकास, प्रतिभा पहिचान तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।
प्रतियोगितामा बिजेता खेलाडी विद्यार्थीहरूलाई शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् । प्रतियोतिामा जिल्लाका १२ वटा स्थानीय तहका १२ सय भन्दा धेरै विद्यार्थीहरु सहभागि बनेको जिल्ला खेलकुद विकास समिति गुल्मीले जनाएको छ ।

