गुल्मीमा ब्याडमिन्टन संघको वार्षिक साधारणसभा सम्पन्न

admin

२०८३ श्रावण २३ गते, शनिबार १९:०६ मा प्रकाशित

गुल्मी, २३ साउन । गुल्मीमा जिल्ला ब्याडमिन्टन संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष भरत थापाको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८३÷०८४ का लागि विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्ने गरी वार्षिक कार्ययोजना पारित गरेको छ ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य महेश काउछाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संघका सचिव चतुर्भुज पन्थीले आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक कार्ययोजना तथा बजेट प्रस्तुत गर्नुभएको थियो । कार्ययोजना अनुसार विद्यालयस्तरीय प्रशिक्षण शिविर, जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता तथा गुल्मीका १२ वटै स्थानीय तहको सहभागितामा अन्तरपालिका मेयर कप ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने योजना अघि सारिएको छ ।

त्यस्तै, प्रदेश तथा राष्ट्रिय छनोट प्रतियोगितामा जिल्लाका खेलाडीलाई सहभागी गराउने, प्रतिभावान खेलाडीलाई छात्रवृत्ति प्रदान गर्ने तथा अग्रज खेलाडीलाई सम्मान गर्ने कार्यक्रम समेत कार्ययोजनामा समेटिएको छ । साधारण सभामा कुल २४ लाख ४३ हजार २ सय ८४ रुपैयाँको आय–व्यय विवरण समेत प्रस्तुत गरिएको थियो ।

सभामा जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष एवं सल्लाहकार बालसिंह काउछा र श्रीप्रसाद भलामीको विशेष आतिथ्यता रहेको थियो । साधारणसभाले जिल्लामा ब्याडमिन्टन खेलको संस्थागत विकास, नयाँ प्रतिभाको पहिचान र खेलाडीको क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षण तथा प्रतियोगितालाई प्राथमिकता दिने जनाएको छ ।