१० जेष्ठ २०८३, आईतवार
गुल्मीदरबारमा नेतृत्व विकास तथा उद्घघोषण तालिम
गुल्मी, १० जेठ । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा आयोजित “अध्यक्षसँग बालबालिका” कार्यक्रम अन्तर्गत नेतृत्व विकास तथा उद्घघोषण तालिम सम्पन्न भएको छ ।
बालबालिकामा नेतृत्व क्षमता, अभिव्यक्ति कला तथा उनीहरुलाई निर्णय प्रक्रियामा सहभागिता अभिवृद्धि गराउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तारा थापा ठेंगाले बालबालिकाको क्षमता विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने भन्दै सिकेका विषय व्यवहारमा लागू गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा कार्यपालिका सदस्यहरूले पनि मन्तव्य व्यक्त गर्दै बालबालिकाको प्रतिभा विकासका लागि गाउँपालिकाले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
तालिममा सहभागी विद्यार्थीहरूले तालिम उपलब्धिमूलक भएको भन्दै यसले नेतृत्व र उद्घघोषण सम्बन्धी व्यवहारिक ज्ञान प्राप्त भएको बताएका थिए । उनीहरुले यस्ता तालिम वडातहसम्म विस्तार गर्नुपर्ने माग गरेका छन् ।
तालिम संयोजक तथा प्रमुख प्रशासकीय अधिकृत नवराज घिमिरेले बालबालिकाको व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धिका लागि “अध्यक्षसँग बालबालिका” कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले बालमैत्री स्थानीय शासन प्रवद्र्धनमा बालबालीकाको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभएको छ ।
तालिममा नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्षद्वय जनार्दन घिमिरे र टोपलाल अर्यालले सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट सहजीकरण गर्नुभएको थियो । तालिममा गाउँपालिकाका सबै वडाबाट विद्यार्थीहरुको प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

