नतिजा सुधार गर्न गणित शिक्षणलाई प्रशिक्षण 

admin

२०८३ जेष्ठ २३ गते, शनिबार १७:४५ मा प्रकाशित

गुल्मी,२३ जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल गुल्मीको आयोजना एवं वेदान्त पब्लिकेशनको सहयोगमा गणित शिक्षकको क्षमता विकास तालीम सनिबारदेखि सदरमुकाम तम्घासमा सुरु भएको छ ।

तालिममा जिल्लाका निजि तथा सामुदायिक विद्यालयमा अध्यापन गराउने गणित शिक्षक तथा शिक्षिकाहरूको सहभागीता रहेको छ । समग्रमा जिल्लामा गणित बिषयको नतिजा कमजोर भएकाले त्यसलाइ सुधार गर्न सस्थाले बर्सेनि शिक्षकहरुलाई तालीम प्रदान गर्दै आएको छ ।

तालिमको उद्घाटन गर्दै रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले रेसुङ्गा नगरपालिकाले शिक्षाको गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षकहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै फलदायी हुने बताउनु भयो। उहाँले सामुदायिक र संस्थागत विद्यालयबीचको सहकार्यले समग्र शैक्षिक सुधारमा टेवा पुग्ने धारणा राख्दै तालीम उपलब्धिमुलक बनाउन आग्रह समेत गर्नु भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल गुल्मीका अध्यक्ष राजु कुँवरले गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरूको निरन्तर पेशागत विकास आवश्यक रहेको बताउनु भएको थियो । उहॅाले गणित शिक्षणलाई अझ प्रभावकारी, सिर्जनात्मक र विद्यार्थीमैत्री बनाउन यस्ता तालिम कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

उक्त तालिममा आधारभूत तहका शिक्षकलाई प्रख्यात गणित विषयका लेखक तथा प्रशिक्षक हुकुम प्रसाद दाहालले प्रशिक्षण दिनुभएको छ।