जेनजीको योगदानलाई बिर्सन हुँदैन ः सांसद ढकाल

admin

२०८३ जेष्ठ २३ गते, शनिबार १७:४६ मा प्रकाशित

गुल्मी, २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य एवं गुल्मी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सागर ढकालले जेनजीको योगदानका कारण देशमा ठूलो परिवर्तत आएको बताउनु भएको छ । उहाँले मुलुकमा आएको राजनीतिक परिवर्तन, वैकल्पिक शक्तिप्रतिको जनविश्वास तथा वर्तमान सरकार निर्माणमा नयाँ पुस्ता (जेनजी) को महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनको शनिवार सदरमुकाम तम्घासमा उद्घाटन गर्दै ढकालले उक्त कुरा बताउनु भएको हो । उहाँले युवा पुस्ताले गरेको त्याग, बलिदान र समर्थनका कारण रास्वपा देशव्यापी रूपमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुन सफल भएको उल्लेख गर्नुभयो । “आज हामी जुन स्थानमा उभिएका छौँ, त्यसको आधार नयाँ पुस्ताको त्याग र योगदान हो, त्यसैले जेनजीको योगदान बिर्सनु हुँदैन,” ढकालले भन्नुभयो ।

सांसद ढकालले पार्टीका नेता तथा कार्यकर्ताले जनताको खबरदारीलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै आवश्यक पर्दा नेतृत्वलाई सचेत गराउनुपर्ने धारणा राख्नु भएको छ । “हामीलाई समय–समयमा झक्झक्याइएन भने हामी पनि पुराना दलहरू जस्तै बाटोमा जान सक्छौँ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्दै गुल्मी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थीले सुशासन, पारदर्शिता र उत्पादनमुखी विकासलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । उहाँले चालु वर्षलाई सुशासनको वर्षका रूपमा अघि बढाइएको उल्लेख गर्नुभयो । विकास निर्माणका काम कनिका छरेझैँ छरेर नभई आवश्यकताका आधारमा योजनाबद्ध ढङ्गले सञ्चालन गर्नुपर्ने उहाँको भनाई थियो ।

बजेट विनियोजनमा समानुपातिक पद्धति अपनाइएको भन्दै सांसद पन्थीले कृषि र उद्योग क्षेत्रमा लगानी विस्तार गरी रोजगारी सिर्जना गर्न सकिने बताउनु भएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य श्रद्धा कुँवर लगायत केन्द्रिय नेताहरुले समसामयिक विषयमा आआफ्ना धारणा राख्नु भएको थियो ।

उक्त अधिवेशनले आगामी पाँच वर्षका लागि जिल्लामा नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीका सभापति भोजराज पाण्डेले जानकारी दिनुभयो ।